|

काठमाडौं : नेपालीको घर आँगनमा दशैं भित्रिसकेको छ। गाउँदेखि शहरसम्म र बूढाबूढीदेखि बच्चासम्म दशैंको माहोलमा रमाउन थालेका छन्।

दशैंलाई मिठो खाने, राम्रो लगाउने चाडको रूपमा चिनिन्छ। तर‚ बढ्दो सहरीकरणसम्म नेपालीको अवस्था फेरिएको छ। राम्रो लगाउन मिठो खानका लागि दशैं पर्खनुपर्ने अवस्था छैन।

यतिवेला गाउँघरमा युवा देखिँदैनन्। प्रत्येक परिवारका युवा रोजगारीको खोजीमा विदेशिएका छन्। ती विदेशिएका युवाले पठाएको रेमिट्यान्सबाट परिवारको आर्थिक अवस्था माथि उठेको छ। त्यही सुधारिएको आर्थिक अवस्थासँगै परम्परागत रूपमा मनाउँदै आएको दशैंको स्वरूपमा पनि परिवर्तन आएको छ।

दशैंमा सरकारले दिएको सार्वजनिक बिदा अहिलेका पुस्ताले अफिस, कलेजको छुट्टी घुमफिरका लागि दिएको सम्झन थालेका छन्। यसले गर्दा पहिला कसरी मनाइन्थ्यो भन्ने नै जानकारी नहुन सक्छ। दशैंको मौलिकता जोगाउनुपर्नेमा वृद्धवृद्धाहरू बताउँछन्। फेरिएको दशैंको स्वरूपसँगै ‘ऊ बेला दशैं कसरी मनाइन्थ्यो?’भनेर केही वृद्ध आमाबुबाका अनुभव।

अहिलेको दशैंले उ बेलाको झल्को दिँदैन

८५ वर्षकी हेमकला उपाध्यायलाई उ बेलाको दशैं सम्झँदा अहिले पनि रमाइलो लाग्छ। बर्खाभरि काम गरेर थकाइ मार्ने समयको रूपमा दशैंलाई लिने गरिन्थ्यो। सोह्रश्राद्ध सकिएसँगै गाउँघरमा दशैंको माहोल सुरु हुन्थ्यो।

घर सजाउनका लागि सेतो कमेरो, रातो माटो, दाउरा जम्मा गर्ने चटारो हुन्थ्यो। अघिल्लो वर्षदेखि गोठमा पालेर राखेको खसी, सुकेका दाउराका चाङ, एक वर्षमा दमाईं दाइले सिलाएको बास्ना आउने कपडा, घरको ढिकीमा कुटेको चिउराले दशैं आएको आभास गराउँथ्यो।

आफ्नै जंगलको दाउरा, घरकै धानको चिउरा र चामल, घरमै पालेको वा आफ्नो गाउँबाट किनेर ल्याएको खसी चिरिच्याट्ट पारेको बाटोघाटो, बस्तुभाउलाई प्रशस्त मात्रामा घाँसपातको जोहो गर्दासम्म फूलपाती आइसक्थ्यो। 

फूलपातीको अघिल्लो दिनसम्म लाहुरेहरू घर फिर्ने क्रम सुरु हुन्थ्यो। सुकिला लुगा लगाएका नयाँ मान्छेको चहलपहलले गाउँको माहोल अर्कै देखिन्थ्यो। काम तथा पढाइको सिलसिलामा सहर पसेका सन्तान गाउँ फर्कंदा खुसीको सीमा नै हुँदैनथ्यो। फूलपाती पूजा गरेपछि सबै काम थाती राखेर मानिसहरू दशैंमा रम्थे, रमाउँथे। लिंगे, रिँगटे पिङ हाल्न सुरु गरिन्थ्यो। 

टीकाको दिनपछि त सबै आफन्तकहाँ टीका लगाउनै व्यस्त हुने भइहाले। त्यतिवेला बच्चाहरूलाई दक्षिणाको ठूलो महत्व हुन्थ्यो। ‘हाम्रा पालामा दक्षिणा पाइने भनेको दुई पैसा, पाँच पैसा हो।’ त्यति वेलाको पैसाको महत्व नै बढी हुन्थ्यो।

अहिले उ बेलाको जस्तो माटो कमेरोले सजाउनुपर्ने घर देखिँदैनन् न त दाउराको जोहो गर्नुपर्ने अवस्था नै। सबै कुराको सुविधा छ तैपनि अहिलेको दशैंले उ बेलाको झल्को दिँदैन।

ढिकीको आवाजसँगै दशैं आउँथ्यो

भक्तपुरका ७१  वर्षीय हरिकृष्ण श्रेष्ठलाई जब एक वर्षमा एकपटक चिउरा कुट्नका लागि ढिकीको आवाज आउँथ्यो। त्यो आवाजले दशैं भित्रिएको आभास हुन्थ्यो। घरमा आमाहरूलाई दशैंको चामलका धान सुकाउन र चिउराका लागि धान भिजाउन भ्याइनभ्याइ हुन्थ्यो। घरका ढिकीजाँतो लिपपोत र मर्मतका काम सुरु हुन्थे। त्यतिवेला मात्र दशैं आएको थाहा हुन्थ्यो। प्रविधिको विकास भइसकेको थिएन। ढिकी जाँतोले सबै काम गर्नुपर्ने अवस्था थियो।

हरेक परिवारले दशैंमा टीका लगाउन आउनसक्ने सम्भावित आफन्तको संख्या आँकलन गरेर चिउरा तथा चामलका लागि एक पाथीदेखि मुरीसम्म धान उसिन्थे, सुकाउँथे।

चिउरा र चामलका लागि ढिकी कुट्ने चलन हुन्थ्यो। धान कुट्नका फलामको दाँती भएको मुसल हुन्छ भने चिउरा बनाउन चिल्लो काठको मुसल हुन्थ्यो। एकजनाले घान लगाउने, अरू दुईतीनजनाले पालैपालो ढिकी थिच्ने गर्थे। 

चिउरा तयार गर्न उसिनेको चामललाई ढिकी नजिकै अँगेनो बनाएर हाँडीमा भुटिन्छ। हाँडीमा पिटपिट फूल उठेपछि भुटेको धानलाई ओखलमा राखिन्छ। एकपटकमा एक मुठीका दरले धान भुट्दै चिउरा बनाउँदै गर्नुपर्ने भएकाले यो काम कठिन हुन्छ तर तर चिउरा स्वादिलो हुन्थ्यो।

बढ्दो सहरीकरणसँगै विकास भएको प्रविधिले उ बेला गाउँघरमा हुने ढिकी जाँतोलाई विस्थापित गर्‍यो। न गाउँमा ढिकी र जाँतो छ न त त्यसको अवाज नै। किनेका चिउरा, किनेको चामल, किनेको ग्यास घरमा छ तर स्वादिलो छैन। बर्सेनि दशैं आउँछ तर उ बेलाको जस्तो उल्लास छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.