|

भक्तपुर : बडादशैँका आठौं दिन आज नेवाः समुदायले बिहान घरघरमा दशैँको मासु भित्र्याउनुका साथै बेलुका कुछी भ्वय् खाएर मनाउँदैछन्।

घटस्थापनाको दिन घरघरमा जमरा राखेसँगै सुरु भएको महान चाड बडादशैँ आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइने बडादशैँलाई नेवाः समुदायले मोहनी नखःको रुपमा मनाउँछन्।

महिषासुरलाई नवदुर्गा भवानीले सौन्दर्यको मोहनी लगाई आफ्नो बशमा पारी वध गरेको कारण नेवाः समुदायमा दशैँलाई मोहनी नखाः भन्ने गरिएको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन्।

मोहनी नखःको पहिलो दिन नेवाः समुदायले पनि नलस्वाँ (जमरा) राख्छन्। भक्तपुरमा दशैँको पहिलो दिन घटस्थापनाका दिन ब्रम्हायणी पीठमा स्नान गरेर दरवार स्क्वायरमा रहेको तलेजु भवानी र काठमाडाै‌स्थित कुमारीको दर्शन गरी घरघरमा जमरा राख्ने प्रचलन छ।

घटस्थापनादेखि टिकासम्मको नौ रथामा भक्तपुरका विभिन्न शक्तिपीठहरूमा मेला लाग्ने गर्दछ। दशैँको दोस्रो दिन हनुमानघाटस्थित महेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ।

तेस्रो दिनमा देउला टोलको बीचमा रहेको कुमारी मन्दिर मेला लाग्ने गर्छ भने चौथौ दिनमा चुपिङघाटस्थित भद्रकाली मन्दिरमा मेला लाग्ने गर्दछ। त्यसैगरी दशैँको पाँचौ दिनमा बाराही मन्दिरमा मेला लाग्छ। दशैँको नौरथामा विभिन्न नौ देवीहरूको दर्शन गर्ने प्रचलनअनुसार छैठौं दिनमा बिहानै सिद्धपोखरीमा स्नान गरी खौमास्थित इन्द्रायणी देवीको दर्शन गरिन्छ।

त्यस्तै सातौं दिनमा कालीघाट खोलामा स्नान गरी व्यासीस्थित महाकाली मन्दिरको दर्शन गरिन्छ। बडादशैँ अन्तर्गत नवरात्रिको सातौं दिन धार्मिक परम्पराअनुसार घर–घरमा पूmलपाती भित्र्याइन्छ। यस दिन नेवाः समुदायले मासुको रूपमा सयपत्रीफूल, उखुको बोट, केराको पात, दाडीम, धानका बाला, अदुवाको बोटलगायतका नयाँ पालुवालाई शुभ साइतको प्रतिक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैँ घरमा भित्र्याउने गरिन्छ।

महाअष्टमीको दिन कुछी भ्वय

बडादशैँको आठौं दिन महाअष्टमीको दिन नेवा ः समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याइन्छ।

मासु भित्र्याउँदा घरको मुलढोकामा रगत छर्कने गर्दछ भने मासुलाई मन्छाएर मात्र घर भित्र्याउने प्रचलन छ। साँझ विभिन्न १२ थरी पकवानका साथ केराको पातमा कुछी भ्वय खाने गर्दछन्।

नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा  (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराऊ, मस्याङ, घिरौला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ।

नेवा: समुदायमा कुछी भ्वयको विशेष महत्व छ। नेवा : समुदायमा जुठो परेपनि कुछी भ्वय् खानुपर्ने मान्यता छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टामा केराउको बारा राख्ने प्रचलन छ।

दुई माना चिउरा राखेर खाने भएकोले यस भोजको नाम कुछी भ्वय रहन गएको एक थरीको भनाई छ भने अर्को थरी संस्कृतीकर्मीहरूले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय हुन गएको र पछि अपभ्र‌ंश भएर कुछी भ्वय हुन गएको भनाई छ।

महाअष्टमीकै दिन भक्तपुरमा ३२ लक्षणयुक्त निकुथँ: (निक्खर) राँगाे दौडाउने जात्रा गरिन्छ। निकुथुँ जात्रा स्थानीय व्यासी टोलदेखि यालाछें, बालाखुहुँदै दरवार स्क्वायर तलेजु मन्दिर पुगेर समापन हुने गर्दछ।

जात्राको क्रममा स्थानीय बाटोको दुवै छेउमा बसी सुकुन्दा बत्ति बाली निकुथुँलाई पूजा गर्ने प्रचलन छ। जात्रा दरवार स्क्वायरमा पुगेपछि खड्ग लिएर बसेका पुजारी ब्राम्हणले निकुथुँलाई मूलचोक भित्र्याउन आदेश दिने गर्छन् र अनि मात्र निकुथुँभित्र लैजाने चलन छ। त्यसपछि तलेजु भवानीमा कालरात्री पूजा प्रारम्भ हुन्छ।

महानवमी अर्थात मोहनी नखः

​महानवमी मोहनी नखःको महत्वपुर्ण र विशेष दिन हो। यस दिन नेवाः समुदायले आ–आफ्ना ईष्ट देव, गणेश, देवी दुर्गा भवानीलगायतका देवी, ज्यावल, सवारी साधन, मेशिनरी औजारहरुको पूजा गर्नुका साथै बली दिएर शक्ति आर्जन गर्दछन्।

भक्तपुरमा मोहनी नखःको नवौं दिन परम्परागत ऐतिहासिक तथा सास्कृतिक खःमेय् (राँगाे) जात्रा गरिन्छ। धार्मिक, साँस्कृतिक, र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय् राँगाेलाई महिषासुर दैत्यको प्रतिकका रुपमा मानी यो खःमेय् राँगाे जात्रा मनाइने परम्परा छ।

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पूजाआजा गरी नवदुर्गा द्योछें देवगृहवाट बाहिर निकाली दौडाएर व्रम्हायणी पीठ सम्म पुर्‍याइन्छ।

​नवदुर्गा भवानीलाई चढाइने खःमेय्को शरीरमा पाँच चक्कर भएको र खोट नभएको ठूलो राँगाे चाहिन्छ। महिषासुरको प्रतिक मानिएको खःमेय् व्वाकेगु जात्रा (राँगाे दौडाउने) जात्रा मोहनी नखःको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ।

महानवमीको नवौं दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहुँदा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरुप खःमेय् राँगाेलाई बल पूजा गरी जात्रा मनाउँदै आएको इतिहास तथा संस्कृतिविद्हरुको कथन रहेको छ।
कालरात्रिका क्रममा वध गरिएका निकुथु र खःमेय् राँगाेको स–साना मासुका टुक्रा प्रसादका रुपमा घरलगेर सुकुटी बनाई, धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ र लक्ष्मीपूजाको दिनमा बाल्ने चलन रहेको छ। त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने जनविश्वास छ।

तलेजुमा पायःद्यो (खड्ग जात्रा) 

मोहनी नखःको दशौं दिन अर्थात टिकाको दिन भक्तपुरको तलेजुमा पायःजात्रा अर्थात खड्ग जात्रा मनाइन्छ। तलेजु भवानीको साक्षात रुप मानिने पायःद्यो ( देवता)लाई रातो कपडाले बेरिएर युद्ध कवच पहिर्याइ जात्रा मनाइने गरिन्छ।

दशमीको साँझ तलेजु आगम मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्र, अस्त्रसहित तलेजुको प्रतिरुप पाय द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने गर्दछ।

जात्रामा तलेजुमा सम्वद्ध राजोपाध्यायले पायः द्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ।

पायः द्यो दरवार स्क्वायरस्थित स्वर्णद्धार पुगेपछि पंक्तिवद्ध रुपमा प्रतिक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गर्छन्। तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पायः द्यो जिवित देवता नवदुर्गा देवगणसहित यात्रापथमा अगाडि बढ्ने प्रचलन रहेको छ। पायः द्यो जात्रा चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा मनाउने गरिन्छ। 

तन्त्र प्रधान नवदुर्गा नाच

भक्तपुरको जीवनसँग जोडिएको नवदुर्गा देवगणको नाच मोहनी नखःको चालँ अर्थात विजयादशमी टिकाको दिनदेखि सुरु हुन्छ। महानवमीको साँझ नवदुर्गा देवगृहबाट जात्रा गरेर ल्याएको खःमेय्को बलीपछि सिद्ध प्राप्ति गरेका नवदुर्गा नाचको प्रारम्भिक नृत्य विजयादशमीको दिनदेखि सुरु गरिन्छ।

देवत्व सिद्धिका लागि प्रसिद्ध मानिएको तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदुर्गाका मूल पूजारी आचाजुले देवगण हुने सम्वद्ध वनमालालाई तान्त्रिक विधि अनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु  (हस्तान्तरण ) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.