|

सल्यान : सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीले स्थानीय तह भएयता समयमा तलब नपाएको भन्दै विरोध जनाएका छन्।

आफूहरुले नगरपालिका भएको एक वर्षबाहेक कहिल्यै समयमा तलब नपाएको उनीहरूको गुनासो छ।

बडादशैँ जस्तो नेपालीको ठूलो चाडमा चौमासिक तलब भत्ता खुवाउन नसक्ने स्थानीय सरकार र सरोकारवालाहरूको कार्य खेदजनक भएको बुधबार विभिन्न चार शिक्षक संघ संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

गत वर्षबाहेक स्थानीय सरकार बनेदेखि नै कुनै पनि वर्षको दशैँको तलबभत्ता समयमा नपाएको नेपाल शिक्षक संघ बनगाड कुपिण्डे नगरपालिकाका अध्यक्ष सुरेन्द्र खड्काले बताए।

विज्ञप्तिमा स्थानीय सरकारको शिक्षक कर्मचारीप्रति गैरजिम्मेवार र हेपाहा प्रवृत्ति तथा बैंकको लापरवाहीको भर्त्सना र निन्दा गर्दै यथाशिघ्र तलबभत्ता निकासा गर्न आग्रह गरिएको छ।

फेरि पनि यस प्रकारको लापरवाही र गैरजिम्मेवारीपूर्ण कार्य दोहोरिए शिक्षक कर्मचारी आन्दोलनमा जान बाध्य हुने चेतावनी विज्ञप्तिमार्फत उनीहरूले दिएका छन्।

नगरपालिकाले बैंकमा पठाइसकेको बताउने र बैंकका सोध्दा नगरपालिकाको प्रक्रिया नमिलेको जवाफ दिएर एकअर्कालाई दोषारोपण गरी शिक्षक कर्मचारीको श्रमको अवमूल्यन गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

समयमै तलबभत्ता निकासा नगर्ने स्थानीय सरकार प्रती यहाँका संघ संगठनका अगुवाहरूले घोर आपत्ति जनाउँदै खेद प्रकट गरेका छन्। स्थानीय सरकारमा काम गर्ने कर्मचारीको मनपरीतन्त्र रोक्न निर्वाचित जनप्रतिनिधि असमर्थ भएको जनाएको छ।

रोजीरोटीको एक मात्रै उपाए त्यही तलब भएकोले दशैंजस्तो पर्वमा चुलो बाल्न समस्या रहेकोले यहाँको नालायक स्थानीय सरकारको यो कार्यप्रति खेद प्रकट गरिएको नेपाल शिक्षक संघ नगर अध्यक्ष सुरेन्द्र खड्का, नेपाल राष्ट्रिय शिक्षक संघठनका नगर अध्यक्ष नारद घर्ती, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष गणेश चन्द र शिक्षक महासंघका जिल्ला कार्यसमिति सचिव सुरेशसिंह राठौरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.