|

तनहुँ : चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ। बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको हो।

गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया स्वीकृति थापाको मृत्यु भएको थियो। गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार उक्त रकम प्रदान गरेका हुन्। दुवै निकायले राहतस्वरुप तत्कालका लागि ५०/५० हजार रुपैयाँ सहयोग गरेका हुन्।

वन कार्यालयले दश लाख रुपैयाँ राहत प्रदान गर्ने भएकामा तत्कालका लागि ५० हजार वितरण भएकाले थप नौ लाख ५० हजार रुपैयाँ केही दिनभित्र उपलब्ध गराइने बताइएको छ। अध्यक्ष थापाले मानिसको जीवनसँग पैसाको तुलना हुन नसक्ने बताउँदै पीडितलाई मलम लगाउन र सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको बताए।

घरगोठ उज्यालो बनाउन आग्रह

विगत केही वर्षयता तनहुँमा चितुवाको आतंक छ। बन्दीपुरमा बालिका आक्रमण गर्ने चितुवाले फेरि मानिसमाथि आक्रमण गर्न सक्ने भएकाले सचेत रहनका लागि साँझ तथा रातको समयमा घर गोठ उज्यालो राख्न वन कार्यालय तनहुँले आग्रह गरेको छ।

‘एकपटक आक्रमण गरेको चितुवाले फेरि मानिसलाई आक्रमण गर्नसक्ने सम्भावना हुन्छ, त्यसका लागि सतर्क बन्नुपर्छ,ׄ’ डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, ‘घरगोठ बलियो पारौं, झाडी सफा गरौं, बिहान साँझ एक्लै नहिँडौँ, बच्चालाई एक्लै घर बाहिर नपठाऔँ, बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गरौं।’

मृग वन कुखुरालगायत वन्यजन्तुको शिकार गर्दा आहाराको अभाव भई चितुवाले मानिसको शिकार गर्ने गरेको काफ्लेले बताए। उनले भने, ‘वन्यजन्तुको चोरी शिकार गर्नेलाई पक्राउ गर्न सबैले सहयोग गर्नुपर्छ।’

२०७४ फागुन १ गते पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका ११ बालबालिकाले ज्यान गुमाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.