|

हरिबाबु दाहाल

नेपाली समाजमा चाडपर्व आउनेबित्तिकै स्वादिष्ट तथा गरिष्ठ भोजन प्रयोग पनि साथै आउँछ। दशैँतिहारपछि अस्पताल तथा क्लिनिकमा नसर्ने रोगका विरामीको चाप पर्छ भन्ने तथ्याङ्क रहेको छ।

हाम्रो समाजको ढाँचा। आहारको तौरतरिका जस्तो छ‚ त्यसबाट टाढा रहेर नियमित स्वस्थ आहार सेवन गर्न गाह्रो छ। सकिन्छ भने स्वस्थ उचित आहार गर्नुपर्छ यदि सकिँदैन भने चाडवाडमा चालचलनमा रहेका आहारको स्वाद लिँदै शरीरलाई सकेसम्म कम हानि हुने गरी सेवन गर्नुपर्छ।

दशैँका दिन प्रायः मासुका परिकार सेवन गरिन्छ। यसरी सेवन गर्दा विभिन्न परिकार एकैपटक पस्किनु पर्छ। यसो गर्दा दिनभर मासुका विभिन्न परिकार खाइरहँदा शरीरलाई चाहिनेभन्दा धेरै खाइन्छ। तर एकैपटक सबै परिकार पालो पुर्‍याएर खाँदा थोरै खाएजस्तो लाग्छ। परिकार खाँदा विस्तारै चपाई चपाई खानुपर्छ।

चपाउँदै र अल्मलिदै खाँदा समय पनि बढी लाग्छ। यसो गर्नाले खाना स-साना टुक्रामा विभाजन भई र्‍यालले बिस्तारै भिज्छ जसले गर्दा पचाउन सजिलो हुन्छ। साथै अर्को महत्वपूर्ण कुरा विस्तारै चपाएर खाँदा पेटले खानाले अघाएको संकेत मस्तिष्कमा ढिलो पुग्ने हुँदा ( करिब १५ मिनेट पछि मात्र) थोरै खानाले पनि अघाइन्छ।

कहिलेकाहीँ हामीले हतारहतार खाना खाइसकेपछि पेट अटेसमटेस हुन्छ। यसो हुनुको कारण हपाहप खाना खाँदाखाँदै धेरै खाइन्छ पछि पेटबाट मस्तिष्कमा संकेत पुग्दासम्म हामीले चाहिनेभन्दा बढी खाइसकेका हुन्छौँ। हामी खानाले सन्तुष्ट हुने भनेको खाना खाएर निल्दा प्राप्त हुने सन्तुष्टि नै हो।

आखिरमा मिठो खानुको मतलब आफू सन्तुष्टिकै लागि त हो नि‚ नभए त जस्तो खानाले पनि पेट भरे भइहाल्थ्यो होला। दशैँमा प्रायः धेरैले मासु नै खाने गर्छन्।

यसरी खाँदा अन्य मिसाएर खाने जस्तै भात, चिउरा आदि सुक्खा नै खानुपर्छ‚ बरु रस, दालको सहायताले निल्नुपर्छ। यसो गर्दा मुखमा प्रशस्त मात्रामा र्‍याल आउँछ। झोलिलो खाना खाँदा मुखमा र्‍याल त्यति बढी आउँदैन जति सुक्खा खाना खाँदा आउँछ।

चाडवाडको प्रकृति छ त्यस्तै अनुरूपको गरिष्ठ आहार मात्र खानुपर्छ। दशैँमा मासुका परिकार मात्र, तिहारमा विभिन्न खालका रोटीका परिकारहरू खानु राम्रो हो। खानामा मासु , मिठाई, घ्यू, पनिर, गेडागुडी, ड्राइफुड भेटेजति सबै थोक नखानुस्।

खानामा सलाद, अन्य तरकारी र फलफूलहरू (आँप, केराबाहेकका) प्रशस्त खानुपर्छ जसले गर्दा कब्जियत कम हुन्छ। यसका साथै गरिष्ठ भोजनले हुने नोक्सानी पनि यसबाट कम हुन्छ।

हल्का पेय पदार्थ, कृत्रिम जुस, मदिरा, बाक्लो लस्सीको सट्टामा कागती पानी, नरिवलको पानी, लौकाको जुस, कुभिण्डो जुसको प्रशस्त प्रयोग गर्नुस् जसले गर्दा शरीर क्षारीय हुनमा मद्दत गरोस्।

दिनमा प्रायः गरिष्ठ भोजन १ पटक मात्र गर्नुपर्छ जसले गर्दा आफूलाई सन्तुष्टि पनि होस् र शरीरलाई कमभन्दा कम हानि नोक्सानी होस्।

जति धेरै परिकार खाइन्छ त्यति नै मात्रामा शरीरमा नुनको मात्रा बढी हुँदै जान्छ। त्यसैले नुनको मात्रा सकेसम्म कम प्रयोग गर्नुस्।

यीमाथि उल्लिखित तरिकाले आहार सेवनबाट चाडवाडको समयमा शरीरलाई कम नोक्सानी हुन सक्छ। चाडवाडको समयमा गरिष्ठ भोजन नै गर्नुपर्छ भन्ने छैन‚ सकेसम्म नियमित सन्तुलित आहार गरेकै उत्तम।

दाहाल योग गुरु हुन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.