|

 

या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता ।​ ​

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ॥

या देवी सर्वभूतेषु श्रद्धारूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ॥

गतवर्ष कोरोना कहरले भौतिक रूपमा दशैँ मनाउन सहज भएन। घरपरिवारमा टीका सम्पन्न भयो। बाँकी आफन्तसँग मिलेसम्म जुमबाट आशिष लिइयो। ९० वर्षकी वृद्धा आमाले पनि जुमबाट हाँस्दै आशिष दिनुभयो। हामी सबैलाई कता कता खल्लो, नरमाइलो र शून्यताको पर्व जस्तो महसुस भयो।

तर,मेरी आमाको मुखबाट निस्कियो- ठिकै गर्‍यो कोरोनाले, १६ वर्षमा बिहे गरेर घर गएदेखि दशैँमा अरूलाई रमाइलो बनाइदिनकै लागि २४ घण्टा खटियो। तिमीहरू साना थियौ, टीकाको दिनलाई सिलाइदिएको नयाँ जामा सप्तमीको दिनदेखि नै भिरेर पिङ खेल्न दौडिन पाए त्यही दशैँ हुन्थ्यो। पिङमा कसैले पालो दिएन भने घर आएर रोइदिए भयो, अरूसँग झगडा गर्नमै पुग्नु पर्थ्यो। दिनभर साथीभाइसँग भुल्थ्यौ, भोक लाग्दा खान पाए पुग्थ्यो।

आफूलाई भने भान्छाको थप काम, घरमा तास खेल्न जम्मा हुने पाहुनालाई चिया, खाजा, परिकार। जुठाभाँडा थप काम, गाईगोठ, घासपात, कुँडोपानी, पानीपधेरो, लिपपोत, सरसफाइ ओहो के के हो के के कसरी सक्यो होला यो ज्यानले ?

तिमीहरू पनि यसोउसो सघाउन कस्सिन्थ्यौ। पूर्णिमासम्म टीका लगाउन आउने पाहुना, कति रात बस्थे, कति फर्किन्थे। दशैँलाई भनेर १ महिना अगाडिदेखि ढिकीमा धान कुटेर चामल संग्रह गर्नुपर्थ्यो। टीकाको दिनलाई पुग्ने घाँस अघिल्लो दिनै काटेर थुपार्नुपर्थ्यो। सासूको काम भनेको काम सघाउनुभन्दा पनि त्यो काम अझै सकिएन ? ओहो यति धेरै काम छ।

आएका पाहुना पनि चिया नखाई फर्के यस्तै अत्याउने मात्रै। प्रज्ञा नभएपछि प्रशंसा र मिठो वचन कहाँबाट पाउनु ? दशैँ सकिएपछि ज्वरो आउँथ्यो। यो कोरोना भन्ने जात त्यतिवेला आइदिएको भए सुखै पाउँथेँ होला बरु। अहिले पनि खिन्न मान्नुपर्ने के छ र ? कति दुःख गर्छेस् ? आमाका यी अभिव्यक्तिले दशैँ उहिलेको र अहिलेको दशैँलाई उजागर गर्छ।

अहिलेका सहरका महिला र आमालाई भान्छाको कामदेखि, किनमेल, खाद्यान्नको जोहो सबै तरिकाले सहज छ। एक दिन सपिङ मल छिरेपछि सबै किसिमका सामग्री एकै थलोमा उपलब्ध छन्। सवारीसाधन देखि लिएर सबै कुराको सुविधा छ । तुलनात्मक हिसाबले जीवन सहज छ ।

यसो हेर्दा पनि चाडपर्व भन्नासाथ महिलाको भूमिका नै धेरै हुनेहुँदा महिलाको शक्ति र सहनशीलतालाई ‘या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः’ भन्ने भावले उजागर गर्दछ।

नवदुर्गा जस्तै नौ हातले नौतिर कर्म र जिम्मेवारी सम्हाल्न पुगेकी आमा र सम्पूर्ण महिलाप्रति श्रद्धा भावले शिर निहुरिन्छ। त्यसैले त सत्यता छ यो प्रार्थनामा–

या देवी सर्वभूतेषु श्रद्धारूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

देवत्व र असुर मन्दिरबाट होइन मनबाट

नेपालीको महान् चाड दशैँमा विशेषगरी दुर्गा शक्तिको आह्वान र उपासना गरिन्छ। नौ दिनसम्म नवदुर्गाको आराधना र उपासनापश्चात् दशौँ दिन देवीको प्रसाद र आशीर्वाद स्वरूप टीका र जमरा ग्रहण गरिन्छ ।

नकारात्मक शक्तिलाई परास्त गरेर सकारात्मक ऊर्जा प्राप्त गर्ने अवसरको रूपमा पनि यो पर्वले महत्व राख्छ । नवदुर्गा र विजया दशमी भन्नासाथ  मन्दिर दर्शन, शक्तिपीठ दर्शन, नवदुर्गा स्वरूप ऊर्जाको आह्वान भनेर बुझिन्छ। जसको प्रतीकात्मक अर्थ हो कि प्रत्येक व्यक्तिभित्र देवत्व र असुर दुबै गुण समाहित छन् । हाम्रो व्यवहार र मनस्थितिले पनि यो देखाउँछ।

महत्वपूर्ण पक्ष भने हामी कुन स्वभाव लिएर बाँच्ने, व्यवहार गर्ने र जीवनलाई कसरी धन्य बनाउने आफैंमा भर पर्छ। दुबै गुण एकैपटक प्रकट हुन सक्दैनन् अर्थात् मानिस एकैपटकमा असुर र देवता बन्न सक्दैन। देवत्व, सत्यता, इमान्दारीले भरिपूर्ण व्यक्ति असुर बनेर अरूलाई धोका दिन सक्दैन।

म को हूँ र म भित्र कस्तो गुण छिपेको छ त्यसको पहिचान गर्नु जरुरी छ। देवीलाई आह्वान गर्न बाहिर मन्दिर, मूर्ति, तस्बिरमा फूल, अक्षता चढाएर पुग्दैन। भित्र आत्मादेखि आह्वान गर्नुपर्छ। व्यक्तिभित्र नै छिपेको छ‚ राक्षसी र दैवीय गुण। प्रेम, श्रद्धा, स्नेह, कल्याणकारिता पनि व्यक्तिभित्रै छ र घृणा, द्वेष, असन्तोष, लोभ, मोह पनि व्यक्तिभित्रै छिपेको छ। तिनै असुररूपी स्वभावलाई पैतालामुनि पारेर प्रेमरूपी स्वभावलाई जागृत गर्नु दुर्गा शक्तिको आह्वान गर्नु हो।

‘अहिंसा परमो धर्म’ भनेर सारा प्राणीको रक्षा गर्ने देवीले कुनै प्राणीको हत्या, हिंसा गर्ने संकेत पक्कै दिएकी हुन्नन्। तिमीहरूभित्र रहेको असुररूपी तत्वलाई परास्त गर’ यही नै देवी शक्तिको प्रेरणा र सन्देश हो । देवीको अष्ट हातमा भएका हतियारले दिन खोजेको सन्देश पनि ज्ञान रूपी हतियारले व्यक्तिभित्र भएका विकाररूपी तत्वलाई परास्त गर्नु र आत्मवान् भएर बाँच्न सिकाउनु हो।

अष्ट हातमा भएका हतियार र शक्तिको अर्थ हो‚ ममा प्रेम, जागरण, कल्याणकारिता, सहयोग, ज्ञान, प्रज्ञा, ध्यान र धैर्य रूपी हतियार छन् र तिनलाई प्रयोग गरेर जीवनलाई सार्थक बनाउँछु।

कर्मकाण्डबाट रूपान्तरणतर्फको अपेक्षा

नवरात्रभर मन्दिर जानु, उपासना गर्नु र मिठा परिकार बनाएर परिवारजनलाई खुवाउनुमा मात्र सीमित गर्‍यौँ भने त्यो कर्मकाण्ड बन्छ।

संकल्प गरौँ नवरात्रभर म सबैसँग मिठो बोल्छु, कसैलाई हिंसा हुने कार्य गर्दिनँ, कसैप्रति घृणा गर्ने छैन। कसैको बारेमा गलत र नकारात्मक सोच्नेछैन। स्वयंमा आनन्दित र प्रफुल्लित रहनेछु, प्रेम बाँड्नेछु, परोपकारका कार्य गर्नेछु, ध्यानसाधनमा डुब्नेछु। यो भन्दा उपयुक्त उपासना र उत्सवको आयाम अरू के होला ?

व्रत, उपासना र पूजाको अर्थ हो म भित्रबाट शान्त, सरल, धीर, प्रज्ञावान्, इमान्दार बन्नेछु  नकारात्मक चिन्तन गर्नेछैन, हानिकारक भोजन गर्नेछैन। व्रत लिनुलाई मात्र महत्व दिएर होइन व्रतबाट ग्रहण गर्न खोजेको कुरा के हो‚ त्यसलाई पनि ख्याल गर्नु वास्तविक चिन्तन हो।

यसले नै आत्माको शक्ति पनि बढाउँछ। आफ्नो इच्छा शक्तिलाई बढाउँछ र सकारात्मक ऊर्जाको प्रवाह हुन थाल्छ। नौ दिनसम्म सात्विकतालाई ध्यान दिन सकियो भने कति उत्तम होला? प्रसाद के हो ? जुन चिज सात्विक छ, कल्याणकारी छ, सर्वहितकारी छ त्यही नै प्रसाद हो।

अरूलाई देखाउन होइन‚ आफ्नो स्वास्थ्यका लागि, आफ्नो संकल्प र प्रतिज्ञा शक्ति बढाउन व्रत र उपासना गर्‍यौँ भने सार्थक हुनेछ। नवरात्रभर प्रज्वलित गरिने दियो अर्थात् प्रकाश केवल कपासको बत्ती र तेलको मिश्रणबाट निस्केको उज्यालो मात्र अवश्य होइन। कर्मकाण्डका लागि जलाइने दियो मात्र होइन। हाम्रो प्रेम, सद्भाव, मित्रता, समझदारी र मानवीयताको प्रकाश बनेर फैलियोस्।

आफूभित्रको अन्धकारलाई ज्ञान, ध्यान र प्रज्ञारूपी दियोले परास्त गर्न सकोस्। हामीले दिने शुभकामना शब्दमा मात्र होइन‚ भावबाट प्रकट हुन सकून् र व्यवहारमा लागू हुन पनि सकून्। जागरण, सात्विकता, प्रेम र प्रकाश भएपछि कुनै पनि सम्बन्ध सुमधुर र दीर्घकालीन हुनेछन्। यही नै जीवनको सार्थकता र पर्वको उत्सवमय औचित्य बन्नेछ।

एकापसमा विश्वास, समझदारी, प्रेम कायम रहन सकेको खण्डमा मात्र जीवन जिउने शैलीमा सकारात्मकता आउनेछ र यही नै दैवी गुण हो। त्यसैले नवरात्रमा दुर्गा शक्तिको आह्वान मात्र होइन‚ हामीभित्र रहेको दैवी शक्तिलाई उजागर गर्ने पनि प्रयास गरौँ।

दुर्गा माताले कस्तो सन्देश दिन खोज्नु भएको छ‚ त्यसलाई ख्याल गरौँ। आफूभित्रको सम्पदा, समृद्धि र आफ्नो आत्माको पहिचान गरौँ अनि जीवनलाई नै उत्सवमय बनाऔँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.