|

संखुवासभा : दशैँ निधारमा रातो टीका, कानमा जमरा, नयाँ लुगा लगाउने र मीठा–मीठा परिकार खाएर आफन्तसँग भेटघाट गर्दै खुसी साट्दै हर्षाेल्लासका साथ मनाउने चाडका रुपमा परिचित छ।

नेपाली समाजमा दशैँको रातो टीका लगाउने चलन छ। तर रातो टीका कहिलेदेखि लगाउन थालियो इतिहासमा छेउ टुप्पो भेटिँदैन। पूर्वका किराँत समुदायमा दशैँ मनाउने चलन बदलिएको छ।

किराँत समुदायमा दशैँ मनाउने चलन घट्दै गएको उनीहरू बताउँछन्। रातो टीका लगाउने किराँत समुदाय अहिले सेतो टीका लगाएर दशैँ मनाउँछन्।  संखुवासभाका कुलुङ, चाम्लिङ, सोताङ, साम्पाङ राईले सेतो टीका र जमरा लगाएर दशैँ मनाउने परम्परा छ।

किराँत समुदायले कहिलेदेखि सेतो टीका लगाउन थाले एकीन नभएको संखुवासभाको सिलिचोङ गाउँपालिका ताम्कुका ७६ वर्षीय चन्द्रबहादुर कुलुङले बताए।

रातो टीका सद्‍भाव, उज्यालोपन, शृङ्गारको प्रतीक मानिन्छ। किराँत समुदाय दशैँ र शुभकार्यमा सेतो अक्षताको टीका लगाउँछन्। किराँत मुन्धुममा सेतो रङलाई पवित्र र किराँतहरूको राष्ट्रिय रङ मानिएको छ।

किराँत समुदायमा सेतो टीका लगाउने सुरुवात कहिले भयो इतिहास नभए पनि पुर्खाहरूले चलाएको परम्पराका आधारमा सेतो टीका लगाउँदै आएको कुलुङले बताए।

पूर्वी नेपालमा लिम्बू जातिले पनि सेतो टीका र जमरा लगाउने परम्परा रहेको मादी नगरपालिका-४ की शान्ता सुब्बाले बताइन्।

सेतो टीका पूर्वी पहाडका फाल्गुनन्दले समेत सेता पहिरन र सेतो टीका लगाएको इतिहास छ। किराँत समुदायले दशैँ, बिहे र शुभकार्यमा समेत टीका लगाउने परम्परा छ।

केही वर्षदेखि यहाँको दशैँ फेरिएको छ। राई-लिम्बू समुदायमा अहिले दशैँको उल्लास घट्दो छ। सिलिचोङ चन्द्र बहादुर कुलुङका अनुसार कुलुङ राईहरूले वर्षौं अघिदेखि दशैँमा सेतो टीका लगाउने परम्परा रहेको बताए।

राई जाती थरी उपनाम दिएको राई समुदायले रैतीलाई दशैँमा मार हान्ने दिन बोलाएर खाना दिने परम्परासमेत भएको बताए। राई-लिम्बू समुदायमा सेतो टीका लगाउने, आफन्तकहाँ टीका थाप्न जाने चलन निकै कम भएको उनीहरू बताउँछन्।

तर किराँत समुदायले पनि दशैँलाई उमंग, हर्षाेल्लास, आफन्त भेटघाटको अवसरकै रूपमा लिइरहेको पाइन्छ। सेतो टीकालाई शान्तिको प्रतीक मान्दै किराँतले सेतो टीका र वस्त्र (लुगा) लगाउने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.