|
अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारस्थित अशिग्राम मन्दिरमा लागेको दशैं जाँत (मेला) को फाइल तस्वीर।

डडेल्धुरा : अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दशैं जाँत (मेला) को तयारी पूरा भएको छ।

हरेक वर्ष बडादशैंको अशिग्राम मन्दिरमा दशैँ जाँत धुमधामसँग मनाउने गरिन्छ।

डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजन दशैं जाँतका बेला घटाल बाबाको पूजाआजासँगै विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने गर्छन्।

मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्लालगायत छिमेकी देश भारतबाट पनि भक्तजन आउने गर्छन्। धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्छन्।

धामी (झाँक्री)हरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०/१२ मुठी जति मुखभरीको बालुवा–पानीसँगै खाने गरेको स्थानीय बताउँछन्।

घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ। यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहीआएको छ। 

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकेपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ।

पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ।

घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा पुर्‍याइन्छ। बडादशैंको दिन मेला सकिएपछि बेलुकी देउरो पुनः चम्सालमा रहेको देवघरमा ल्याइने घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले जानकारी दिए।

दशैँ जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेका पनि एकै दिनका लागि भएपनि घर फर्कने गरेका अध्यक्ष बोहरा बताउँछन्।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव–पाण्डव युद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम देखाएका थिए। उनले कौरव सेनामा धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थमा उल्लेख छ।

लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको भनाइ छ।

सदियौंदेखि त्यही मान्यताअनुरुप घटालबाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन्।

दशैँ जाँतको अर्को आकर्षण आफन्तसँगको भेटघाट केही समयका लागि भएपनि एकै थलोमा बसेर सुखदुःख साटासाट गर्न पाउनु पनि हो।

हालका वर्षमा वैदेशिक रोजगारीतिर जानेहरूको संख्या वर्षेनी बढन थालेको छ। त्यसैले विगतमा जस्तो पुरुषभन्दा मेलामा महिलाहरुको उपस्थिति बढ्दै गएको देखिन्छ। यस्तै, घटाल थानमा हरेक वर्ष वैशाख २ गते मेला लाग्ने गर्छ।

साथै, जाँत अवधिभर जाँडरक्सी बिक्री वितरण, सेवन गर्ने तथा जुवा तास खेल्ने खेलाउनेलाई समितिको निर्णयअनुसार कडाभन्दा कडा कारबाही गरिने भएकाले जाँतलाई मर्यादित बनाउन घटाल क्षेत्र विकास समाजले सबैसँग आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.