|

विराटनगर : मोरङको विराटनगरका वोसिम आलम मुस्लिम समुदायका हुन्। उनी प्रत्येक शुक्रवार नमाज पढ्न मस्जिद जान्छन्। मुस्लिम समुदायको हरेक सांस्कृतिक परम्पराप्रति उनको गहिरो लगाव छ। उनको अर्को विशेषता पनि छ। उनी मुस्लिम समुदायमा जन्मे हुर्केको भए पनि हिन्दुहरूको प्रत्येक चाडपर्वलाई चासो र लगावका साथ मनाउने गर्दछन्।

तिहार होस् या रक्षाबन्धन चेलीबेटीको हातबाट ग्रहण गरिरहेका हुन्छन्। दशैंमा मान्यजनहरूको हातबाट रातो टीका निधारमा टलक्क टल्काएर जमरा कानमा सिउरिरहेका हुन्छन्। नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियूका केन्द्रीय सहअध्यक्षसमेत रहेका आलमले राजनीतिमा आएपछि मात्रै गैरमुस्लिम चाडहरूमा चासो दिएका भने होइनन्।

‘मैले बाल्यकालदेखि नै दशैं र तिहार मनाउँदै आएको हुँ’, उनले भने, ‘मलाई नेपालका हरेक चाडपर्वहरू आफ्नो लाग्छन्।’ कुनै पनि धर्म संस्कृतिले अन्य समुदायको धर्म संस्कृतिलाई निषेध नगर्ने उनको सोच छ।

‘म नमाज पनि पढ्छु तर, हरेक चाडपर्वलाई सम्मानका साथ ग्रहण गर्छु’ उनले भने, ‘धर्मको व्यापार गर्नेहरूले कट्टरपन्थी कुरा गर्छन, कुनै पनि धर्मले समाजमा केही असर गर्दैन, एकले अर्काको चाडपर्वलाई सम्मानका साथ स्वीकार गरे समाजमा सकारात्मक सन्देश दिन्छ।’

मुस्लिम समुदायको इद पर्वको दिन अन्य समुदायका साथीहरूले शुभकामना दिने आफूहरूसँगै प्रसाद ग्रहण गर्दा यसले थप एकता र आत्मियता बढाएको उनको बुझाइ छ। दशैं असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठको साथ मनाइन्छ।

घटस्थापनामा जमरा राखी नवमीसम्म पाठ गरी नवदुर्गा र शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रूपमा टीका र जमरा ग्रहण गरी मनाइन्छ दशैं। धार्मिक समाजिक साथै पारिवारिक जमघटकोरूपमा मनाइने दशैंमा कतिपय जात धर्म र समुदायले टीका लगाउँदैनन्।

विराटनगर अमर टोलकी ८६ वर्षीया धनमाया लिम्बू दशैंको टीका लगाउँदिनन्। पारिवारिक जमघट गरे पनि दशैंमा टीका ग्रहण गर्ने परम्परा नरहेको उनी बताउछिन्।

ताप्लेजुङको सिनाममा जन्मेकी उनी गाउँमा छँदा दशैं मेला जाने, धान नाच्ने, पालाम गाउने ख्याली गाएर रमाइलो गर्ने गरेको उनले सुनाइन्। पुर्खाहरूले सुनाएको धार्मिक मिथकअनुसार दशैंको टीकाको दिन रातो टीका लगाउने परम्परा नरहेको उनले बताइन्।

‘हामी रातो टीका लगाउँदैनौ, हाम्रो बाउबाजेले भनेअनुसार हामी आदिवासीलाई हराएर हाम्रै रगतले विजय मनाइएको भन्ने छ, त्यसैले हामी टीका लगाउँदैनौँ तर लगाउनेले सेतो टीका लगाउँछन्’ उनले भनिन्, ‘हामी दशैंको दिन मेलापात जाने, वल्लोपल्लो गाउँको दाजुभाइ, दिदीबहिनी मिलेर धान नाच्ने, पालाम, ख्याली गाउँदै रमाइलो गर्थ्याैं।’

विराटनगर–११ का भुषण लिम्बू दशैं भातृत्व र एकताको पर्वको रूपमा मान्छन्। विभिन्न कारणले परिवारबाट छुटेकाहरूले एकै ठाँउमा भेला भएर एक आपसमा खुशी साट्ने भएकाले पनि दशैं मिलापको पर्व रहेको उनको बुझाइ छ। लिम्बू समुदायमा रातो टीका लगाउनु हुन्न भन्ने भनाइ रहेपनि उनीहरूको परिवारले दशैंको टीकाको दिन रातो टीका जमरा लगाएर नै दशैं मनाउँदै आएका छन्।

नेपालको संस्कृति अनेकतामा एकता ल्याउने संस्कृति रहेकाले समुदाय विशेषले मनाउने पर्वमा समान सहभागिता हुन जरूरी रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभाग प्रमुख डा.चन्द्र उपाध्याय बताउछन्।

‘इद, छठ पर्व, चासोक तङनाम त्यतिकै महत्व छ जति दशैंको छ’ डा.उपाध्यायले भने, ‘समुदाय विषेश मनाउने पर्वमा समावेशी सहभागिता हुनुपर्छ छठमा ब्रत बस्दैनन् पहाडी मुलुकहरू तर पनि समान सहभागिता हुन्छ, यसले एकताको सन्देश दिन्छ।’

उनले पर्वलाई एकअर्कामा खुसी साट्ने माध्यमका रूपमा लिए सबै समुदायको पर्वमा सुख र खुशी मिल्ने तर त्यहाँभित्र असमानताको अनुभूति दिलाउने व्यवहार भए त्यस्ता व्यवहारलाई रोक्नुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.