|

जनकपुरधाम : केही वर्षदेखि तराई मूलका समुदायले पनि टीका लगाएर दशैँ पर्व मनाउन थालेका छन्। धनुषा, महोत्तरी सहित तराईका विभिन्न जिल्लामा योपटक तराई समुदायका प्रायः परिवारले टीका थाप्दै दशैँ मनाएको देखिएको छ।

जसरी तराई समुदायले मात्रै मनाउँदै आएको छठ पहाडी समुदायमा समेत मनाउन थालिएको देखिएको छ। त्यसरी नै तराई समुदायका व्यक्तिले समेत दशैँ पर्व मनाउन थालेका हुन्।

तराईको संस्कृति पहाडमा र पहाडको संस्कृति तराईमा साटासाट हुनु राष्ट्रिय भाइचारा वृद्धि हुने प्राज्ञ तथा संस्कृतिविद् रमेशरञ्जन झा बताउँछन्।

झाले भने, ‘यो पहिचानलाई फराकिलो गर्दै टीका ग्रहण तथा मान्यजनबाट आशीर्वाद लिने परम्परा तराईमा बढ्दै गएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड भएको छ।’

नौरथाको अष्टमी र नवमीको दुवै भूगोलमा आ–आफ्नै विशेषता छ। पहाडमा मनाउने दशैँ उत्सव र चाडपर्वको हिसाबले पहाडी समुदायले मनाउने गर्दछ भने तराईमा भिन्‍न खालको दशैँ मनाउने गरिन्छ। तराईमा निराहार व्रत बसेर तपस्याको रूपमा मनाउने गरिन्छ।

नवरात्रभर फलाहार गरेर कपाल नकाट्ने, अनुहार नहेर्ने, नङ नकाट्ने‚ निराहार बसेर दुर्गा माताको पूजा गरिन्छ। तराईमा मन्दिरमा ढोग्ने गरेको र जईलाई धारण गर्ने गरिन्थ्यो तर अहिले दुबै समुदायले एक अर्काको घरमा पुगेर दशैँको टीका थाप्न थालेका छन्। 

त्यसैगरी वरिष्ठ पत्रकार तथा संस्कृतविद् रामभरोस कापडीले दशैँ माता भवानीकै पूजा भएकाले तराईको अलग्गै यसको पहिचान रहेको बताउँछन्। कापडीले टीकामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआराधनाले यो पर्व मनाउने गरेकाले आजको दिन विशेष रहेको बताए।

आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गा सप्तशती चण्डी पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि विजय हासिल गरेको खुशियालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ।

शान्ति र सद्भावको सन्देश बोकेर आउने दशैँले नेपालीलाई साँच्चिकै शान्तिको अनुभूति दिलाउने गर्दछ। कोरोना महामारीको दुई वर्षपछि योवर्ष आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरू आफ्नो जन्मथलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराका साथ आशीर्वाद लिन पाएकोमा असाध्यै खुसी देखिन्छ।

तराईका बजारमा मेला उत्सव

तराईका सहर, बजार एवं गाउँमा पोहोर र यसपालिको दशैँ निकै फरक देखिएको छ। गत वर्ष कोरोनाका कारण लकडाउनले गर्दा यहाँका बासिन्दाले उकुसमुकुस हुँदै विजयादशमी मनाएका थिए।

थाेरै सार्वजनिक यातायात चलेकाले घरबाट निस्केपछि गन्तव्यसम्म पुग्ने/नपुग्ने अन्यौल र तनावका कारण स्थानीयले त्यतिखेर खुलेर दशैँ मनाउन सकेनन्। मठ, मन्दिर, दुर्गा पण्डाल, मेला र सडक सुनसान रह्यो। यो महापर्वको आवागमन र बिदाइको राम्ररी अनुभूति हुनै पाएन तर  यसपालि त्यसको ठिक विपरीत दशैँको सौन्दर्य उत्कर्षमा देखिएको छ।

तराईमा दशैँमा खानपानभन्दा पनि पूजाको संस्कृति रहेको छ। देवी दुर्गासहित अन्य विभिन्न देवदेवीका प्रतिमा स्थापना गरी भव्यपूर्वक मेला लगाउने चलन छ। प्रदेश २ का सबै जिल्लाका प्रमुख बजार तथा केही ग्रामीण क्षेत्रमा पनि भव्य मेला आयोजना गरिएको छ।​

महाष्टमीको राति कालरात्रि पूजा गर्ने र बलि प्रदान गर्ने चलन रहेको छ। नवमी तिथिका दिन सम्पूर्ण शक्तिपीठमा बलि दिने प्रचलन रहेको छ। नवमीको दिन जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिर, महोत्तरी सोनामाई, सप्तरीको छिन्नमस्ता लगायतका शक्तिपीठमा हजारौँ बोका र राँगा बलि दिइएको छ।

तराईमा दशैँभर बिहान र बेलुका घरदेखि मन्दिरसम्म पूजा गर्ने चलन रहेकाले हरेक घरमा भक्तिको वातावरण हुने गरेको पण्डित लालबाबु झा बताउँछन्। तराईको संस्कृतिमा दशैँको समयमा खेलिने झिँझिया र भगतईमा केही ह्रास भए पनि पूजापाठमा हरेक वर्ष श्रद्धालुको संख्या बढ्दै गइरहेको पण्डित झाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.