|

धनकुटा : दशैँमा गाउँघर अहिले शून्य बन्दै गएका छन्। विगतमा जस्तो यो वर्ष दशैँमा घर आउने चलन विस्तारै घट्दै गएको छ।

दशैँको नौरथा लागेसँगै रोजगारी वा पढाइको क्रममा सहरमा हुनेहरू गाउँमा आउने चलन विस्तारै हराउँदै गएको हो। विगतमा उनीहरू गाउँघरमा फर्किएर दशैँ मनाएर रमाइलो गर्ने गरे पनि हाल निकै कम भएको धनकुटा-२ का बलबहादुर थापाले बताए।

‘प्रायजसो पर्व धार्मिक प्रयोजनसँग सम्बन्धित छन्, चाडपर्व मनाउनुका विभिन्न उद्देश्य छन्। मूलतः धर्मकर्मसँग गाँसिएका चाडपर्वले धर्मसँगै संस्कृतिलाई हुर्काउँछन्। संस्कृतिले सद्भाव जन्माउँछ। सामाजिक सद्भावले एकता गराउँछ’‚ उनले भने, ‘यस्तै–यस्तै मनोरञ्जनात्मक सबल पक्षले संस्कृतिलाई जोगाइराख्न पनि मद्दत पुर्‍याउँछ। त्यसै भएर चाडपर्व सँगसँगै जोडिने अर्को सकारात्मक र साझा पक्ष मनोरञ्जन पनि रहेको छ। वर्षभरि मनाइने विभिन्न चाडपर्वमध्ये दशैँ सांस्कृतिक, सामाजिक एकता र मनोरञ्जन पक्षमा केन्द्रित छ।’

दशैँ ऐतिहासिक, सांस्कृतिक, सामाजिक र रमाइलो गर्ने चाडपर्व तथा पारिवारिक पुनर्मिलनको पर्वका रूपमा परिचित छ। विगतमा घरआँगनमा दशैँ भित्रिनुअघि पुरुषहरू खसी खोज्न गाउँगाउँ डुल्ने, महिलाहरू रातो माटो र कमेरोको खोजीमा जङ्गल पस्ने पूर्वसंकेतमै दशैँमा सामाजिक पक्ष रहेको बताइन्छ।

गाउँका युवा र बूढापाकाहरू गाउँगाउँ गई खसी छान्ने, मोलमोलाई गर्ने एउटा रमाइलो पक्षले सामाजिक पक्षको संकेत गरेको छथर जोरपाटीका हरि कोइरालाले बताए।

खसीधनीले आफ्नो खसीको मूल्य दह्रो पार्न धेरै तौलको भनेर ठोकुवा गरे पनि क्रेता समूहमध्येबाट धेरै तौल नभएको भन्दाभन्दै बीचमा गई कुरा मिलाउने, नजोखीकन अड्कलकै भरमा प्रचलित दरअनुसार खसी किनबेच सम्पन्न हुँदै जाने गरेको कोइरालाले सम्झिए।

‘यसरी क्रेता समूहका सबै सदस्यका लागि खसीको बन्दोबस्त भइसकेपछि खसी डोर्‍याएर घर फर्किने क्रममा बाटोमा हेर्ने, तौल अड्कल्ने र मोल मिले–नमिलेको अनुमान गर्नेकोरमाइलै भीड हुन्थ्यो’‚ कोइरालाले भने‚ ‘भीडमा फलानाले खसी मिलाएर ल्याएछ, अलि चर्को मूल्य हालेछ जस्ता कुरा खसी घर भित्र्याएपछिका प्रसङ्ग पनि रोचकै हुन्थे तर अहिले यस्ता परम्परा हराएर गएका छन्।’

गएका वर्षहरूमा रातो माटो पोतेर र कमेरो छ्यापेर घरलाई चिरिच्याँट्ट सफा पारी दशैँ आएको संकेत गराउन महिला दिदीबहिनी, छोरीबुहारी र आमाहरूको भूमिकामा पनि सामाजिक पक्ष  छिपेको पाइन्छ।

रातो माटो र कमेरो खोज्दा हाँस्दै, रमाउँदै र गफ गर्दै महिलाहरू एकजुट भएर डोको, थुन्से, डालो, बोरा, कुटो लिएर जाने गर्दछन् र फर्कंदा पनि रमाइलो गफ गर्दै मन हलुंगो पार्ने गरेको धनकुटा-२ इन्दिरा निरौलाले बताइन्। उनले पछिल्लो समय आधुनिक घर बन्ने क्रम बढेसँगै रातो माटो र कमेरोको प्रयोग हराएको बताइन्।

घटस्थापनाको दिनपछि दशैँ भित्रिन थाल्थ्यो। त्यसपछि ढिकी भएमा सामूहिक रूपमा चिउरा कुट्ने अर्को सामाजिक प्रचलन थियो। प्रायः महिलाद्वारा गरिने यस कार्यका लागि बढीमा तीन रातसम्म तातोपानीमा भिजाइएको धानलाई सर्वप्रथम तैराउने काम गरिन्थ्यो। उक्त धानलाई कुनै महिलाले हाँडीमा भुट्न थाल्ने र बढीमा दुईजना महिला भुट्दाभुट्दैको धान कुट्थे।

एकथरी महिलाले घान लगाउँथे र भुसैसहितको चिउरालाई नाङ्लामा खन्याई अर्काथरीले निफन्ने गर्दथे। यसरी नेपाली पहाडी क्षेत्रको दशैँमा चिउरा कुट्ने कार्यमा पनि सामाजिक पक्ष भेटिन्थ्यो। तर, पछिल्लो समय चिउरा कुट्नु त परको कुरा ढिकी नै देखिन छाडेको निरौलाको भनाइ छ।

दशैँमा रमाइलो गर्न गाउँघरतिर पिङ हाल्ने प्रचलन थियो। गाउँका केन्द्र, चोक, बजार, भञ्ज्याङ, कोट आदिमा रोटेपिङ, लिङ्गेपिङ, जाँतेपिङ हाल्ने परम्परा थियो। तीमध्ये रोटेपिङको आफ्नै महत्व थियो। रोटेपिङ पनि चारपिर्के र आठपिर्के गरी दुईप्रकारका हुन्थे तर आठपिर्के पिङभन्दा चारपिर्के रोटेपिङ समाजमा बढी प्रचलित थियो।

एकदुईजनाको प्रयासको मात्र सम्भव नहुने भएकाले रोटेपिङका लागि समाजका धेरै सदस्यको सहभागिता हुनैपर्थ्यो। ​यसकारण यो पिङ लोप भएको छ। रोटेपिङका लागि आवश्यक पर्ने उपकरणहरू (खाँबा, बाहाँ, पखेटा, डाँडी, घुर्रा, पिर्का, ठेडी आदि)को निर्माणमा सबल र सामूहिक जनशक्तिको आवश्यकता पर्ने भएकाले यस्ता जनशक्तिको अभाव भएको स्थानीय बताउँछन्। 

गएका वर्षहरूमा गाउँमा पाइने लिङ्गेपिङ चारवटा साल वा बाँसका लिङ्गासहित डाँडी, लट्ठा र कात्रीबाट बनाइन्थ्यो। रोटेपिङको तुलनामा यसको निर्माण प्रक्रिया सजिलो भए पनि सामूहिक एकताविना एक/दुईजनाको बलले मात्रै यो पनि सम्भव थिएन।

फूलपातीको साँझसम्म तयार हुने पिङ निर्माणका लागि जुट्ने दाजुभाइको सम्मानका लागि आमा समूह र विभिन्न महिलाले खाजा खुवाएर सम्मान गर्ने र सँगै रमाइलो नाचगान गर्ने चलन थियो। पछिल्लो समय यस्ता परम्परा लोप भएसँगै परम्परा नै हराउन थालेको महालक्ष्मीका प्रेमबहादुर भण्डारीले बताए।

अहिलेको दशैँमा टीका जमरा लगाउने बाहेक केही नभएको स्थानीय बताउँछन्। युवापुस्तामा वैदेशिक रोजगार मोह र बाध्यताका कारण र मनोरञ्जनका लागि इन्टरनेटको पहुँचका कारण पुरानो परम्परासँगै भाइचाराको सम्बन्ध हराउँदै गएको भण्डारीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.