|

राजविराज :  बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन्। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ।

केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले बताए। एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ। यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भनाइ छ। मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको  बिरामीको चाप अहिले बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताए।

असोज महिनामा पनि दिउँसो अत्यधिक गर्मी भएसँगै अस्पतालमा दैनिक ६० देखि ७० जनासम्म विभिन्न रोगका बिरामी अस्पतालमा भर्ना हुन आउने गरेको उनले बताए। उनका अनुसार आकस्मिक कक्षमा करिब २५/३० शय्या रहेको अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्याको समेत अभाव भएको छ।

शय्या अभावमा केही बिरामीलाई भुईँमा राखेर उपचार भइरहेको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन्। गर्मी बढेसँगै जिल्लास्थित सरकारी अस्पताल गजेन्द्रनारायण सिंह, अन्य स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरो तथा टाइफाइडका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले बताएका छन्।

अहिले जिल्ला अस्पताल र ग्रामीण भेगका स्वास्थ्य केन्द्रमा पनि बिरामीको भीड लागेको स्वास्थ्यकर्मी बताउँछन्। ग्रामीण क्षेत्रबाट अहिले दैनिकजसो टाउको दुख्ने, ज्वरो आउने बिरामी अस्पताल आइरहेका छन्।

अस्पतालमा उपचारका लागि भर्ना भएकामध्ये आधाभन्दा बढी ५/७ दिनभित्र निको हुने र कसैलाई साता दिनभन्दा बढी सताउने गरेको अस्पतालका चिकित्सकले बताएका छन्। निमोनियाबाट भने बालबालिकाहरू बढी प्रभावित भएको अस्पतालले जनाएको छ। मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको अनुमान अस्पतालको छ। त्यस्तै जिल्लाको निजी अस्पतालमा समेत भाइरल ज्वरो, पखाला, रुघाखोकीका बिरामी उपचारका लागि आउने गरेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.