|
असन क्षेत्रका तुलाधर समुदायले दशैँ मनाउने क्रममा प्रतीकात्मक रूपमा आसुरीशक्ति नाश गर्न कुभिण्डोमाथि मार हान्दै बालक।

काठमाडौँ : प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन क्षेत्रका तुलाधर समुदायले मनाउने दशैँ आज विशेष कार्यक्रम गरी मनाएका छन्। 

काठमाडौँ महानगरपालिका–२७ मा पर्ने असनस्थित तुलाधर समुदायको कुल देवताको घरमा भेला भएर उनीहरूले दशैँ मनाएका हुन्। प्रत्येक वर्ष सो समुदायले खड्गजात्रा निकालेर त्यस आसपास क्षेत्रमा बाजागाजासहित परिक्रमा गर्ने गरेकामा कोरोना महामारीका कारण योपटक जात्रा स्थगन गरेका थिए। 

कुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतीकात्मक रूपमा त्यसलाई काटेर आसुरी शक्तिको नाश गरेर दशैँको टीका लगाउने परम्परा छ। यहाँ आज आयोजित कार्यक्रममा कुभिन्डोमा बालकदेखि परिपक्व मानिसले मार हानेर आसुरी शक्तिमाथि विजयी प्राप्त गरिएको घोषणा गरिएको थियो। तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरेको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताए। सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन्।

सम्राट अशोकले कलिङ्गको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दु र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रूपमा मिश्रण गरिएको छ। बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधिविधानपूर्वक जमरा रोपेर विभिन्न देवी तथा देवताको आराधना गरेका थिए।

तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरिन्छ। देशका विभिन्न स्थानमा विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्व र विशेषता भने फरक फरक भए पनि तिनले राष्ट्रिय संस्कृतिलाई विशिष्ट बनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.