|

काठमाडौं : दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा पहिलोपटक फाइनलमा पुगेको नेपाल उपाधि चुम्ने दाउमा छ।

अहिले बेलुकी पौने ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेलमा उपाधिका लागि नेपालले भारतको सामना गर्ने भएको हो।

जारी प्रतियोगिताको लिगको खेलमा भारतसँग १–० गोलको हार बेहोरेको नेपाल भारतलाई पराजित गरेर पहिलो पटक उपाधि जित्ने दाउमा छ।

लिग खेलमा निकै रक्षात्मक खेलेर हार बेहोरेको नेपालले आजको फाइनल खेलमा हारको बदला लिन प्रयास गर्ने छ। सहायक प्रशिक्षक किरण श्रेष्ठ विगतको नतिजा जस्तोसुकै भए पनि त्यो बिर्सिएर उपाधि उचाल्ने खेल खेल्ने बताउँछन्।

भारतसँग पछिल्लो पटक खेल्नुअघि नेपाली प्रशिक्षक अब्दुल्ला अल–मुताइरीले हार पक्का रहेको बताएका थिए। तर खेलपछिको पत्रकार सम्मेलनमा भने लिग चरणमा इन्डियासँग हारेर फाइनलमा उसलाई हराउन चाहेको बताएका छन्। 

१२ औं पटक प्रतियोगिताको फाइनल पुगेको भारतले सातपटक उपाधि जितिसकेको छ भने नेपाल पहिलो पटक फाइनल पुगेकाले पनि नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ।

नेपाली टिमलाई फाइनल पुर्‍याएका प्रशिक्षक अब्दुल्ला अल–मुताइरी नेपाली टिमसँगको यो खेल नै अन्तिम खेल भएकाले पनि जाँदाजाँदै उपाधिको उपहार दिन चाहन्छन्।

अहिलेसम्म नेपाल र भारतले २२ पटक खेलेका छन्। जसमा नेपालले २ पटक जित निकालेको छ भने ५ खेल बराबरी भएका छन्।

त्यसबाहेकका १५ खेलमा भारतले जित निकालेको छ। त्यसअघि नेपाल र भारतको दुई मैत्रीपूर्ण खेलमध्ये एक खेल १–१ गोलको बराबरी भएको थियो भने अर्को खेलमा नेपालले हार बेहोरेको थियो।

नेपाल र भारतले पहिलो खेल सन् १९८५ मा खेलेका थिए। त्यसयता उनीहरुले २२ पटक खेलेका हुन्। पछिल्लो दुई महिनामा मात्र नेपाल र भारत चौथो पटक भिड्न लागेका हुन्।

आजको खेलमा भारतका मुख्य प्रशिक्षक इगोल इस्टिमच खेल मैदानमा उपस्थित हुने छैनन्।

त्यस्तै, भारतका महत्वपूर्ण खेलाडी सुबासिस बोसले पनि पछिल्लो खेलमा रातो कार्ड पाएका थिए। आजको खेलमा उनी पनि हुने छैनन्।

यस्तै नेपालका मुख्य प्रशिक्षक अल–मुताइरी पनि खेल मैदानमा उपस्थित हुने छैनन्।

साफको नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख भए पनि लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका अल–मुताइरीलाई आज भारतविरुद्ध हुने फाइनल खेलमा साफले प्रतिबन्ध लगाएको हो।

जारी साफमा नेपालको तर्फबाट दुई गोल गरेका अञ्जन विष्टले प्रतियोगितामा दुई एलो कार्ड पाएका छन्। त्यसको सजायबापत उनले पनि आजको खेल खेल्न पाउने छैनन्।

जारी साफ च्याम्पियनसिपमा नेपालले ५ गोल गरेको छ भने ४ गोल खाएको छ।

नेपाल बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.