|
फाइल फोटो

काठमाडौं : करिब दुई वर्षदेखि महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)ले आर्थिक क्षेत्रमा ठूलो क्षति पुग्यो। अन्य क्षेत्रको तुलनामा पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्यो।

पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ। कोभिड–१९ महामारीको जोखिमकै बीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सहयोग पुगेको छ।

विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अन अराइभल भिसा’ व्यवस्था गरेसँगै पर्यटक आगमनमा सकारात्मक संकेत देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन क्षेत्र सुधारका लागि सरकारले सहयोग गरेको व्यवसायीको भनाइ छ। भिसा खुलेसँगै नेपाल आउने विदेशीको संख्या बढेको पर्यटन बोर्डले जनाएको छ।

अघिल्लो महिनाको तुलनामा विदेशी पर्यटकको संख्यामा दोब्बर बढेको छ। बोर्डका अनुसार सन् २०२० सेप्टेम्बरमा नेपालमा जम्मा ५८४ जना विदेशी पर्यटक आएका थिए। २०२१ सेप्टेम्बरमा ९ हजार ८९८ जना विदेशी भित्रिएका छन्। यो संख्या सन् २०१९ मा ९२ हजार ६०४ थियो। 

असोज ५ मा मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी पर्यटकका लागि अन अराइभल भिसाको व्यवस्था गर्नाका साथै खोपको मात्रा पूरा गर्ने पर्यटकलाई होटल क्वारेन्टिनको व्यवस्था हटाएको छ। जसका कारण विदेशी पर्यटकको संख्या बढेको पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिए।

अन अराइभल भिसाको प्रभावले अघिल्ला महिनाको तुलनामा पर्यटक बढेको लामिछानेले बताए। यो व्यवस्थालाई सरकारका निकायबीच प्रभावकारी समन्वय गरेको खण्डमा आउँदा याम पर्यटनका लागि सुखद् हुने उनको भनाइ छ।

सरकारले विदेशी पर्यटकका लागि गरेको नयाँ व्यवस्थाले यस क्षेत्रमा प्रभाव परेको र विदेशी पर्यटक आगमनमा झिनो रूपमा भए पनि सुधार आएको बोर्डका निर्देशक लामिछानेले बताए। उनले भने, ‘विदेशी पर्यटकका लागि अन अराइभल भिसाको व्यवस्थाले यसको आकर्षण सकारात्मक छ, पर्यटकको आगमन बढेको देखिन्छ।’

सन् २०२१ को नौ महिनामा ७६ हजार ९१३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। कोभिड १९ संक्रमण सुरू हुनुअघि सन् २०१९ को सेप्टेम्बर महिनामा मात्रै ९२ हजार ६०४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डका अनुसार सन् २०२० मा २ लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए।

बोर्डका अनुसार सेप्टेम्बरमा भित्रिएका पर्यटकमध्ये दक्षिण एशियाली मुलुकका ३ हजार ७३४ जना रहेका छन्। त्यस्तै‚ अन्य एशियाली मुलुकका ५८५ जना छन्। युरोपका १ हजार ७३३ र अमेरिकीको संख्या २ हजार १२५ रहेको छ। 

कोरोना संक्रमणको केही कमजोर भएको मौका पारेर गत फेब्रुअरी, मार्च र अप्रिलमा नेपालमा विदेशी पाहुनाको आगमनमा सुधार भएको थियो। त्यो आगमनमा संक्रमण बढेर लकडाउन भएसँगै मे महिनादेखि ओरालो लाग्न थालेकोमा अगस्टदेखि पुन सुधार भएको हो।

सेप्टेम्बरको तुलनामा अक्टोबरमा नेपालमा विदेशी पर्यटकको आगमन अझै बढ्ने अपेक्षा गरिएको छ। किनकि विदेशी पर्यटकले त्यसैअनुसार आगमनमा चासो देखाएका छन् भने बुकिङ पनि हुन थालेको होटेल व्यवसायीले बताए।

अहिले नेपाल आउनका लागि अनुकूल वातावरण मिलेकाले आगमन बढ्न थालेको उनले बताए। विदेशी पर्यटकले नेपाल घुम्न आउँदा अन अराइभल भिसा पाउने र क्वारेन्टिन पनि बस्नु नपर्ने भएकाले आगमनमा सुधार हुने संकेत देखिएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.