|

खेलको अन्तिममा जुलेन लोबेटले निर्णायक गोल गरेपछि रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित सोसिडाडले मालोर्कालाई १–० गोलले हरायो। रोमाञ्चक खेलमा सोसिडाडले ९०औं मिनेटमा गोल गरेको थियो। जुलेन लोबेटले मार्टिन जुविमेन्डीको पासमा गोल गर्दै सोसिडाडलाई महत्वपूर्ण जित दिलाए।

सोसिडाड पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो। तर मालोर्काले त्यसको फाइदा उठाउन सकेन। पहिलो हाफको इन्जुरी समयमा सोसिडाडका अइहेन मुनोज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए। दुवै टोलीले ५० प्रतिशत बल पोसेसन राखेपनि सोसिडाडले अन्तिम समयमा गोल गर्न सकेको थियो। खेलभर सोडिसाडले १० वटा पोस्ट प्रहार गरेको थियो। मालोर्काले सात वटा पोस्ट प्रहार गरेपनि सफल हुन सकेन। सोसिडाडका माइकल मेरिनो ‘म्यान अफ दी म्याच’ भए।

जितसँगै सोसिडाडले शीर्ष स्थान कब्जा गरेको छ। सोसिडाडको नौ खेलबाट २० अंक पुगेको छ। एक खेल कम खेलेको रियल म्याड्रिड र साविक विजेता एट्लेटिको म्याड्रिड १७ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। सोसिडाडसँग पराजित मालोर्का ११ अंक सहित १२औं स्थानमा छ।

शनिबार रातिनै भएको अर्को खेलमा लिभान्ते र गेटाफेले गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ। जारी सिजन खराव नतिजाबाट गुज्रिएको लिभान्ते र गेटाफेले रेलिगेसन जोन छल्न सकेको छैन। पाँच अंक बनाएको लिभान्ते १८औं स्थानमा छ। दुई अंकमा सिमित गेटाफे तालिकाको अन्तिममा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.