|

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ मा पर्ने उत्तरगंगा नदीमा पुल नबन्दा वर्षायाममा नदी वारपार गर्न सास्ती भएको छ।

पुथाउत्तरगंगा–१० को तक र वडा नम्बर ११ सेराको बीच भएर बगिरहेको उत्तरगंगामा पुल नबन्दा वर्षायाममा नागरिकले आवतजावत र ढुवानीमा सास्ती पाउँदै आएका छन्। हरेक वर्ष वर्षा सुरु भएदेखि कात्तिकसम्म सवारीसाधनले नदी तर्न नसक्दा नागरिकलाई आवतजावतमा मर्का परिरहेको स्थानीय वीरप्रताप बुढा मगरले बताए।

यो वर्ष पनि हालसम्म गाडीले नदी तर्न सकेका छैनन्। यो सहिद मार्गअन्तर्गतको रुकुमपूर्व–रोल्पा–दाङ सडकखण्डको पुथाउत्तरगंगामा मुख्य सडक हो। पुल निर्माणका लागि स्थानीय सरकार नहुँदै डीपीआर भइसकेकाले अहिलेसम्म पुल निर्माण नहुनु दुःखद भएको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए।

गाउँपालिकाका तर्फबाट पुल निर्माणका लागि सहिद मार्ग, केन्द्रीय पुल विभाग र प्रदेश एवं संघीय सांसदलाई समेत पटक–पटक ध्यानाकर्षण गर्दा पनि पुल निर्माण अघि बढ्न नसकेको अध्यक्ष घर्ती मगरले जानकारी दिए। स्थानीयबीच विवाद र केन्द्रीय पुल विभागले पनि चासो नदिएकाले पुल निर्माण हुन नसकेको घर्ती मगरको भनाइ छ।

पुल निर्माण नहुँदा गाउँपालिकाको माथिल्लो क्षेत्रका नागरिकलाई सास्ती भइरहेको छ। पुल बनाउन सबैले आफ्ना तर्फबाट सहजता गरिदिन गाउँपालिकाका अध्यक्ष घर्ती मगरले सबैलाई अपिल गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.