२३ जना सुरक्षा गार्डको दरबन्दी रहेकोमा ११ जना मात्र

|

बझाङ : बझाङको देवल विमानस्थलको सुरक्षा व्यवस्थामा लापरवाही गरेका पाइएको छ। हवाईजहाज अवतरण हुने बेलासम्म स्थानीयहरु विमानस्थलको रनवेमा हिँड्डुल गरिरहने गरेका छन्। त्यति मात्रै नभई स्थानीयले विमानस्थललाई धान, पराल बोक्ने मुख्य बाटोको रुपमा प्रयोग गर्दै  आएका छन्। 

विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीले पनि चेकजाँचमा लापरवाही गर्ने गरेका छन्। २३ जना सुरक्षा गार्डको दरबन्दी रहेकोमा ११ जना मात्र छन्। विमानस्थलमा स्थानीयलाई आवतजावतमा रोक लगाउन सुरक्षाकर्मीलाई आग्रह गरे सुनुवाइ नभएको समिट एयरलाइन्सका बझाङका स्टेसन प्रमुख हिक्मत सिंहले गुनासो गरे।

विमानस्थलको घेरबारमा प्रयोग गरेको काँडे तारमा स्थानीयहरुले लुगा सुकाउने गरेको सिंहले बताए। धान, पराल, घाँस, पानीलगायत सामान पनि रनवे हुँदै ल्याउने गरेकाले घाँस, पराल, फुटेका चुराका टुक्रा रनवेमा खस्ने गरेको उनको भनाइ छ। 

‘विमानस्थलको रनवेमा स्थानीयहरु यसरी नै हिँड्डुल गर्ने र सुरक्षाकर्मीहरुले कडाइ नगर्ने हो भने हवाई सेवा बन्द गर्नु पर्ने अवस्था सिर्जना हुन्छ,’ उनले भने, ‘स्थानीयहरुलाई रनवे बाट जान रोक लगाउन अनुरोध गर्दा पनि सुरक्षाकर्मीले चासो नदिँदा सुरक्षा चुनौती थपिएको छ।’

विमानस्थलको वेटिङ स्थलमा पनि गाईवस्तुहरु जाने गरेका छ। गत असारमा विमानस्थलका प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको बैठकले विमानस्थलमा फोटो, भिडियो खिच्न नपाइने, अनुमतिविना विमानस्थलभित्र जान नपाउने निर्णयहरु गरिएको थियो। तर, उक्त निर्णय हालसम्म कार्यन्वयन हुन सकेको छैन। स्थानीयलाई तलमाथि गर्न बैकल्पिक बाटो नहुँदासम्म रनवेमा हिँड्ने काम बन्द नहुने स्थानीय पवन धामीले बताउँछन्।
 
विमानस्थल सुरक्षाकर्मीका इन्चार्ज केशवदत्त भट्ट भने विमानस्थलमा लगाएको तारबार ठाउँठाउँमा मर्मत गर्नुपर्ने र हवाईजहाज आउने जाने समय निर्धारित हुने नभएकाले समस्या भएको बताउँछन्। यस्तै, उनले विमानस्थल प्रमुखलाई स्थानीयका लागि बैकल्पिक बाटो बनाउन अनुरोध गरे पनि सुनुवाइ नभएको बताए। 
 
‘प्लेन यति बेला आउँछ भन्ने टाइमटेबल हुँदैन,’ उनले भने, ‘कहिलै गाउँतिर ड्युउटीमा गएको अवस्थामा आउँछ। कहिले खाना खाने बेला आउँछ।’
भट्टले सुरक्षामा दरबन्दी अनुसार सुरक्षाकर्मी खटाउनु पर्ने माग गरे पनि कुनै सुनुवाइ नभएको बताए। साथै, खटिएका सुरक्षाकर्मी बस्ने भवन जीर्ण भएकाले आफूहरु नै सुरक्षित नभएको गुनासो गरे। 

‘कहिले काहीँ राति भवनको पाखोबाट माटो र ढुंगा खस्छन्,’ उनले भने, ‘जीर्ण भवनमा डराइडराइ बस्नु परेको छ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले विमानस्थलको घेरबार नभएको र हवाईजहाज कुन दिन कुन समयमा आउँछ भन्ने पनि जानकारी नभएका कारण समस्या भएको बताउँछन्। प्रहरी एक्लेले मात्रै विमानस्थलको सुरक्षा दिन नसक्ने भएकाले नागरिकले पनि विमानस्थल सुरक्षाको अपनत्व लिनु पर्ने उनको भनाइ छ। 

विमानस्थलका वरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिति अध्यक्ष भानुभक्त आचार्यले भने सुरक्षाकर्मीको कार्य क्षेत्र बढेको र स्थानीयले प्रहरीलाई सहयोग नगर्दा सुरक्षामा चुनौती थपिएको बताए। उनले विमानस्थल घेरबारका लागि तारजालीको टेन्डर भैसकेको र सुरक्षाकर्मीहरुको भवनको लागि केन्द्रबाट काम अघि बढिसकेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.