|

काठमाडौं : नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी जम्मा ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ। ९१ दिन अवधिको ट्रेजरी आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ। यसअघि बैंकले गत असोज २५ गते १३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी  जारी गरेको थियो।

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई  बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ।

के हो ट्रेजरी बिल

मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्ने गर्छ।

२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्दछ। नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.