|

पर्वत : चितवनका विमल क्षेत्री बन्जी जम्प गर्न आइतबार पर्वत सदरमुकाम कुश्मा बजाएर आए। तर‚ अग्रिम टिकट बुक नगरेकाले उनले बन्जी जम्प गर्न पाएनन्। अर्को पटक आउने भन्दै उनी फर्किए।

दशैंमा लामो बिदा भएकाले त्यही मौका छोपेर साहसिक खेलका लागि आएका उनको धोको बन्जी जम्प गर्नेहरूको भीडकै कारण पछि धकेलियो।

‘बन्जी जम्प गर्ने भनेर टीकाको भोलिपल्टै चितवनदेखि यहाँ आएको त पालै नपाइने रहेछ। पहिले नै बुक गरिएन‚ आएपछि सिधै जम्प गर्न पाइन्छ होला भनेको। अब अर्को बिदालाई छोप्ने गरी बुक गरेर आउनुपर्ला‚’ उनले भने, ‘बन्जी नगरे पनि अरू एडभेन्चर गेमहरूमा त रमाइयो। पर्वत यात्रा रमाइलो भयो।’

बन्जी जम्प सञ्चालन गरेको कम्पनी ‘द क्लिफ’ का सञ्चालक युवराज जोशीका अनुसार यति बेला देशका विभिन्न जिल्लाबाट बञ्जीलगायत सहासिक खेलमा रमाउन आउने संख्या बढेको छ। अहिले दैनिक करिब १०० जनाले बन्जी जम्प गर्दै आएको उनले बताए।

‘बन्जी जम्प नगरे पनि यहाँभित्र रमाउन र हेर्न दैनिक करिब ७०० जनाले टिकट काटिरहेका छन्‚’ जोशीले भने, ‘टिकट बुक नगरी आए पालो पाउनै मुस्किल छ। दिनमा करिब १०० जनालाई बन्जी जम्प गराउन सकिएको छ।’

दशैंको बिदा सुरु भएपछिको समयमा मौसममा पनि सुधार आएको, सडक पनि सहज बनेकाले पर्यटकहरूको बढेको उनको भनाइ छ। पर्वतका अधिकांश क्षेत्र‚ बाग्लुङको बलेवा र आसपासको क्षेत्रका नागरिकहरू अवलोकनमा रमाउने गरेका छन्। बाहिरी जिल्लाबाट आएका पर्यटकहरूले भने पहिलो उद्देश्य नै बन्जी जम्पलाई बनाउँछन्।

पर्वत, बागलुङ र म्याग्दीमा आफन्त भएकाले टीका थाप्न आएका, दशैंमा मुस्ताङ भ्रमणमा गएका तथा बागलुङ कालिका मन्दिरमा पूजाआजाका लागि आएकाहरुले पनि मौका छोपेर बञ्जीजम्प र एडभेन्चर गेमहरूमा अवलोकन गरेर फर्किने गरेका छन्।

बाग्लुङको बाग्लुङ नगरपालिकाको कैयाका स्थानीय गोविन्द ढकालका अनुसार टीकाको दिन र त्यसयता अग्ला र लामा झोलुङ्गे पुल हेर्न आउने आन्तरिक पर्यटक धेरै देखिएका छन्। यो बेलामा आफन्तको टीका थाप्न आउजाउ गर्ने क्रममा बाटोमा पर्नेहरू तथा दशैंको बिदामा घुम्न आएका विभिन्न जिल्लाका पर्यटकहरूको संख्या दैनिक जसो धेरै देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.