|

म्याग्दी : आइतबार (हिजो) रातिदेखिको भीषण वर्षाकाकारण बेनी-जोमसोम लगायत म्याग्दीका ग्रामीण सडक अवरुद्ध भएका छन्।

वर्षाका कारण पहिरो र हिलोले गर्दा बेनी-जोमसोम सडकखण्डको काभ्रेभीरमा गाडी वारपार गर्न नसक्दा मुस्ताङ जाँदै र मुस्ताङबाट फर्कंदै गरेका यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

म्याग्दी लगायत धौलागिरि क्षेत्रमा अहिले (यो समाचार तयार पारुन्जेल)सम्म पनि भीषण वर्षा भइरहेको छ। वर्षासँगैको हुरी बतासले यो क्षेत्रमा लगाइएको धानबाली,तरकारी र फलफूलमा समेत क्षति पुर्‍याएपछि कृषक समेत चिन्तित बनेका छन्।

त्यसैगरी ग्रामीण सडक अवरुद्ध हुँदा दशैँ मनाएर आफ्नो कार्यक्षेत्र फर्कदै गरेका मानिस ठूलो समस्यामा परेका छन्। गाडी गुड्ने सडकमा खोला बगेको छ। बेनी-बगरफाँट-भकिम्ली सडकको बाङ्गेघरा क्षेत्रमा सडकमै पोखरी बनेपछि साना गाडी समेत चल्न नसकेको स्थानीय राजकुमार सुवेदीले जानकारी दिए।

पहिरो र हिलोका कारण बेनी-दरवाङ‚ बेनी-मालढुंगा, बेनी-बागलुङ सडकखण्डमा पनि गाडी चलाउन कठिन भएको बेनी-दरवाङ सडकखण्डका सवारी चालक सूर्यबहादुर हुमेनले बताए। ‘ठूला सवारीसाधन बल्लबल्ल तातोपानी कटेका छन्, ट्याक्सी जान नसकेका कारण सिंगाबाट फर्काएर बेनी ल्याएँ’‚ हुमेनले भने।

यसैगरी म्याग्दीको उच्च लेकाली क्षेत्रमा हिमपात हुन थालेको छ। म्याग्दीको गुर्जा,सोलेको धुरी,रुम,घोडेपानी लगायतका क्षेत्रमा हिमपात हुन शुरु भएको स्थानीयले बताएका छन्।

जिल्लाको उपल्लो भेगमा अचानक जाडो बढेपछि वृद्धवृद्धा र पशुचौपायालाई समस्या भएको छ। ज्येष्ठ नागरिकहरू घरबाट बाहिर निस्कन सकेका छैनन्। उनीहरू घरभित्रै आगो बालेर बसेको रुमका टेकबहादुर घर्तीले जानकारी दिए।

जिल्लाका तल्लो भेगका क्षेत्रमा लगाइएको धानबाली वर्षासँगैको हुरी बतासले ढालेर कामै नलाग्ने बनाइदिएपछि कृषक चिन्तित बनेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.