|

काठमाडौं : बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र महिला अधिकारकर्मीबीच वार्ता सुरु भएको छ।

धोबी र कुर्मी प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका छन् भने आन्दोलनको नेतृत्व गरिरहेकी रूबी खान १० दिनदेखि आमरण अनशनमा बसेकी छिन्।

उक्त प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरू नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आइपुगेका छन्।

सोमबार बिहान माइती नेपालकै कार्यालयमा पुगेर सरकारका तर्फबाट गृह सचिव टेकनारायण पाण्डे र प्रवक्ता फणिन्द्रमणि पोखरेलले संघर्षरत अधिकारकर्मीहरु र आफन्तसँग छलफल गरेका छन्।

गृह प्रवक्ता पोखरेलले बिहानको छलफलमा आफूहरूले आन्दोलन स्थगित गर्न आग्रह गरेको बताए। ‘सचिवज्यू र मैले उहाँहरूलाई माइती नेपालमै पुगेर भेट्यौँ। उहाँहरूको कुरा सुन्यौँ। हामीले पनि आन्दोलन स्थगित गर्न आग्रह गरेका छौँ, विभिन्न क्षेत्रबाट पहल भइरहेको छ, छलफल जारी छ, बेलुकासम्म सायद निष्कर्षमा पुग्न सकिएला’ पोखरेलले थाहाखबरसँग भने।

सरकारी टोलीले छानबिन समिति बनाएर अनुसन्धान र कारबाहीको प्रक्रियालाई अघि बढाउने भने पनि संघर्षरत पक्ष त्यसमा ढुक्क हुन सकेको छैन। त्यहीकारण वार्ता लम्बिएको अधिकारकर्मी मोहना अन्सारीले बताइन्। साँझसम्ममा निचोडमा पुर्‍याउने गरी आफूहरूले छलफललाई निरन्तरता दिएको उनले जानकारी दिइन्।

छलफलपछि अधिकारकर्मी र आफन्त माइतीघर पुगेर झरीमा रुझ्दै धर्नामा बसेका छन्। उनीहरूका माग सम्बोधन गर्ने सन्दर्भमा माइती नेपाल र गृह मन्त्रालयले संयुक्त पहल थालेका हुन्।

दिनभर माइतीघरमा बसेर धर्ना दिने महिला अधिकारकर्मी र आफन्तलाई शनिबारदेखि माइती नेपालले आश्रय दिएको थियो। नन्कुन्नीको घरेलु हिंसाकै कारण ज्यान गएको भन्दै घटनाका दोषी चार जनालाई पक्राउ गरी अनुसन्धान र कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

प्रहरीले नन्कुन्नीका श्रीमान् र जेठाजुलाई मात्रै पक्राउ गरेको छ। त्यस्तै, निर्मला कुर्मीको अपहरण, शरीर बन्धक बनाई बेपत्ता पारिएको विषयका दोषीलाईसमेत पक्राउ गरी कारबाही गर्नुपर्ने माग उनीहरूले राखेका छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.