|

रुकुम पूर्व : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग सरकारलाई हस्तान्तरण नहुँदै विभिन्न ठाउँमा भत्किन थालेको छ।

५५ किलोमिटर लम्बाई रहेको सडकलाई चार खण्डमा विभाजन गरी कालोपत्रे भइरहेको छ। भूमे गाउँपालिका–१ लुकुमदेखि बाग्लुङसँगको सिमाना पातिहाल्ने १३ किलोमिटर, लुकुम देखि भूमे–३ को किमोबोट १६ किलोमिटर, किमोबोटदेखि सिस्ने गाउँपालिका–५, ६ को रुकुमकोट १५.८५ किलोमिट कालोपत्रे भइरहेको छ।

यस्तै‚ रुकुमकोटदेखि रुकुम पश्चिमसँगको सिमाना खोपीचार १० किलोमिटर यी चार खण्डमा विभाजन गरी कालोपत्रेको लागि काम भइरहेको छ। अहिले ३० किलोमिटर कालोपत्रे भइसकेको छ।

लुकुम–पातिहाल्ने १३ किलोमिटर सडक खण्डमा

भारत-महादेव-खिन्ती-सिद्धीशाई जेभीले कालोपत्रेका लागि ८० प्रतिशत भौतिक प्रगति काम गरिसकेको मध्यपहाडी लोकमार्ग रुकुमपूर्व साइडका सब–इन्जिनियर तेजेन्द्रकुमार चन्दले बताए।

यसैगरी लुकुम–किमोबोट १६ किलोमिटर खण्डमा गत आर्थिक वर्षमै वसन्त एन्ड चन्द्र कन्स्ट्रक्सनले कालोपत्रे गरिसकेकोले सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। किमोबाट–रुकुमकोट १५.८५ किलोमिटर खण्डमा कालिका प्यासिफिक जेभीले ८५.७६ प्रतिशत कालोपत्रेको लागि काम सम्पन्न भइसकेको चन्दले जानकारी दिए।

यस्तै, रुकुमकोट–खोपीचार १० किलोमिटर खण्डमा कालिका प्यासिफिक जेभीले नै ८० प्रतिशत भौतिक प्रगति गरेको छ।

यी सडक खण्डमा कालोपत्रे गरिएको र कालोपत्रेको तयारी गरिएको विभिन्न ठाउँमा भत्किएको छ। भत्किएको सडकलाई यथाशीघ्र मर्मत गर्नका लागि मध्यपहाडी लोकमार्ग कार्यालयले ठेकेदारलाई चिठ्ठी पठाइ सकेको सब–इन्जिनियर चन्दले बताए।

५५ किलोमिटर लम्बाई रहेको रुकुमपूर्वमा ३० किलोमिटर कालोपत्रे भइसकेको र बाँकी २५ किलोमिटर कालोपत्रेका लागि काम भइरहेको छ। कालोपत्रे गरिएको सडक खण्डमा भत्किएपछि अहिले यातायात सञ्चालनमा समस्या भइरहेको छ।

सडक चौडा पार्ने, ग्याविन पर्खाल लगाउने, नाली निर्माण र कालोपत्रे गर्न २०७३ देखि २०७६ साल सम्ममा कालोपत्रे गरिसक्ने भनी कार्यालय र निर्माण व्यवसायी बीच सम्झौता भएको थियो। लुकुम–पातिहाल्ने, किमोबोट–रुकुमकोट र रुकुमकोट–खोपीचार खण्डमा हाल सम्म पनि कालोपत्रे भइ नसकेपछि २०७८ चैत्र सम्म समय थप गरिएको चन्दले जानकारी दिनुभयो। योसँग तीन पटक समय थप गरिएको छ।

अधिकांश भागमा सडक चौडा, नाली र ग्राभेल कार्य करिब सम्पन्न भइसकेकोले यस पटकको समय थप गरिएको अवधिमै कालोपत्रे हुने चन्दले दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.