|

जनकपुरधाम : मिथिला नगरी जनकपुरधाममा माछा, पान र मखानका लागि चर्चित मानिन्छ। मिथिलावासीले पानलाई आफ्नो जीवनको अत्यावश्यक सामग्रीको सूचीमा समावेश गरेका पाइएको छ। यहाँ आउने पाहुना, साथीसँगीलाई चिया र पानका लागि सोधिने परम्परा रहेको छ।

धर्मशास्त्रमा पानलाई शुद्ध र पवित्र मानेर देवतालाई पनि चढाइन्छ। अष्टलक्ष्मी, गणेश, भैरव, जगदम्बाको पूजाआजामा पान चढाइन्छ।

सम्पन्न परिवार, पूजा, उत्सव र भोजभतेरमा पान अनिवार्य झैं भएकाले पनि यसले मिथिलामा अधिक महत्व पाएको हो।

भरदुतिया पर्वमा पानको पात भाइको हातमा राखी पूजा गर्ने चलन छ। विवाहमा वर-वधूलाई मायाका रूपमा पान खान दिने चलन पनि छ। यसबाट परस्परमा मायाको अभिवृद्धि हुने जनविश्वास छ।

पान मिथिला क्षेत्रमा अति पवित्र मानिन्छ। यो क्षेत्रमा प्रत्येक पूजा–प्रतिष्ठा, यज्ञ–अनुष्ठान, व्रत, पर्व, संस्कार एवं देव–पितृ कार्य इत्यादिका अवसरमा पानको पात आवश्यक पर्दछ।

यसरी नै गृहदेवताको पूजाआराधनादेखि लिएर सत्यनारायणको पूजा, चौठचन्द्र, छठ पर्व, रविशनि पर्व जस्ता पर्वमा ‘फूलपान’ भनेर ‘अर्घ्य’ चढाउने गरिन्छ, जसमा पानको पात, फूल र फल, प्रायः केरा, राखेर ‘अर्घ्य’ दिने प्रचलन छ।

यसका साथै यो क्षेत्रमा पानको पातलाई खाने कार्यमा पनि उपयोग गरिन्छ। पानको पातको कतिपय अवस्थामा औषधीय उपयोग समेत रहेको बताइने गरिन्छ। यसलाई चून, खयर, सुपारी आदिका साथ प्रायः भोजन उपरान्त खाने प्रचलन छ।

मिथिला क्षेत्रको सुप्रसिद्ध तिथि कोजाग्रत अर्थात् आश्विन पूर्णिमाका दिन मधुर, मखान तथा पान खाने प्रचलन रहेको छ। यसका साथै यो क्षेत्रमा प्रायः आयोजन भइरहने भोजका अवसरमा पनि पान–सुपारी खुवाइने गरिन्छ। यसरी पान खाँदा यसमा अनेक प्रकारका मसला, जर्दा, सुगन्धित वस्तु इत्यादि पनि मिसाइन्छ।

यसरी पान खानुलाई केही हदसम्म लत (कुलत)को रूपमा पनि हेरिने गरिएको पाइन्छ। यसरी कुनै पनि वस्तु खाने लत लाग्नुलाई मैथिली भाषामा ‘अम्मल’ भनिन्छ। यस प्रकार कतिपय व्यक्तिका लागि पान खानु एक प्रकारको अम्मल जस्तै भएको पनि देखिन्छ।

पानको धार्मिक महत्वसँगै सांस्कृतिक महत्व पनि उत्तिकै छ। कुनै कन्याको सौन्दर्यको वर्णन गरिँदा उनको पातलो ओठलाई ‘पानजस्तो पातलो ओठ’ भनेर तारिफ गरिन्छ।

वात्स्यायनको कामसूत्रमा पान खाने सन्दर्भलाई सोह्रशृङ्गारमध्ये एक मानिएको छ। परापूर्वकालमा महिलाले मात्र पान खाने गरेको प्रसंग समेत त्यसमा उल्लेख छ। अचेल स्त्री लिपिस्टिकको प्रयोग गरेर ओठ रातो बनाउने गर्दछन् तर पहिलेका स्त्रीहरू पान खाएर आफ्नो ओठको लालिमा बढाउने गर्थे।

आयुर्वेद चिकित्साका पिता धन्वन्तरीले पानमा १ सय ५ गुण हुने बताएका छन्। उनका अनुसार खानपानपछिको पान अम्मल मात्र नभई पाचन क्रियाको सहयोगी हुन्छ। रुघाखोकी,सर्दी र रक्त विकारमा पानलाई उत्तम मानिन्छ। आयुर्वेदमा पानको गुण रक्तवर्धक, कफनाशक, बलवर्धक र रुचिकारक बताइएको छ।

मैथिली संस्कृतिमा पानको प्रमुखताका कारण अनेकौं लोकगीतमा यसको चर्चा पाइन्छ। भाइबहिनीको अमरप्रेमको प्रतीक पर्व सामा चकेवाको गीतमा बहिनीले भाइका लागि यसरी गीत गाउँछिन्:  

पनमा जे खएला हो भैंया पिकीया नेडौला अहिठाम
तही पिकिये हो भैया जङ्गा–जमुना अएलइ बाढी

त्यस्तै, सोहरगीतमा नायिका गर्भवती भएपछि आफ्ना प्रियतमलाई भन्छिन्–

ढोलिएक पान देलनी किछु नही देलनी।

एउटा शृङ्गारिक लोकगीतमा पानको यसरी पनि चर्चा गरिएको छ–

हँसी–हँसी मनमा खियौले बइमनमा
कि अपने वसे रे परदेश
गोरी रे चुनरियामे दगिया लगाइ गेले

मारिके करेजबामे ठेस

पान मैथिल संस्कृतिको अंग बनेकाले मिथिलामा कलकतिया, बनारसी, देशी, मगही, हरियरपात एवम् मीठा पातको अधिक प्रचलन भएको पाइन्छ।

साधारणतया पान मुखमा राखेर चपाउँदै रस खाने अथवा थुक्ने गरिन्छ वा पूरै निल्ने वा थुक्ने गरिन्छ। पान विभिन्न तरिकाले तयार गरिन्छ। पान तयार गर्दा पातलाई टाँसेर राख्न चुनको लेदो प्रयोग गरिन्छ। केही दक्षिण एशियाली देशमा सासलाई ताजा राख्न पनि पान प्रयोग गरिन्छ।

बहूपयोगी लहरेदार वनस्पतिको रूपमा पान

पान बहुपयोगी लहरेदार वनस्पति पनि हो। पान खाने नेपाल, भारत लगायत दक्षिणपूर्व एशियाको परम्परा रहेको छ। पानको पातमा चूना, कत्था, सुपारीको टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका मसला सुगन्धित आदि हालेर खाने चलन रहेको छ।

हालसम्मको जानकारीअनुसार पातका ६४ जात भारतमा पाइन्छन्। तीमध्ये प्रमुख जातहरू देशी काली, रायटेक आदि महाराष्ट्रमा। साँची, मिठु (मिठा पत्ता), जहाजी र बंगला पान आसाम र पश्चिम बंगलामा, देशी देशावरी, कपुरी, मधही, बनारसी, कलकतिया बंगलापान उत्तर प्रदेशमा लगाइन्छ।

नेपालमा हासम्म उत्पादन गरिएका जातहरूमा देशी, बंगला, सञ्चारी र मिठापत्ता पान हो। पान खेतीका लागि उपयुक्त हावापानी भएको ठाउँमा थोरै जमिन हुने साना कृषकका लागि दीर्घकालीन आयस्रोत बन्न सक्ने तथ्यलाई नकार्न सकिँदैन। भारतको पश्चिम बंगाल राज्यका कम जग्गा भएका पान खेती गर्ने कृषकलाई लिन सकिन्छ। पानखेतीमा स्थानीय स्रोत पारिवारिक श्रमको सदुपयोग वर्षभरि नै गर्न सकिन्छ।

पान खेती गरिने मुख्य ठाउँमा भारतको बंगाल, विहार, उत्तर प्रदेश र दक्षिणमा महाराष्ट्र, केरला आदि ठाउँ अग्रणी छन्। पश्चिम बंगालको २४ परगना, हावडा, हुगली, मिदनापुर, विरभूम र मुर्शीदावाद जिल्लामा पान खेती केन्द्रित पाइन्छ।

योबाहेक उत्तर बंगाल र आसाममा रूखका छेउमा पानका लहरा रोपेर पानको पात उत्पादन गरिन्छ। जसलाई स्थानीय भाषामा कचपान भनिन्छ।

कृषि विज्ञ रामेश्वर महतोका अनुसार हाम्रो यहाँ तराईका पूर्वी जिल्लामा विगत २ दशकदेखि पान खेती हुँदै आएको छ। नेपालमा पनि केही समयदेखि तुलनात्मक दृष्टिले थोरै क्षेत्रफलमा भए पनि झापा जिल्लाको शनिश्चरे, मोरङका लेटाङ, मधुमल्ला, सुनसरीको पञ्चकन्या र श्रीपुर तथा सप्तरी जिल्लामा व्यावसायिक स्तरमा परीक्षणको रूपमा पान खेती गर्न थालिएको पाइन्छ।

कृषि विज्ञ महतोले भने, ‘पानको लहरालाई छाया (छहारी) बढी र सामान्य तापक्रम १०–३५ डि.से., बढी आर्द्रता, केही दिनको अन्तरालमा वर्षा १‚५००–१‚८०० मि.मि. र निम्न प्रकाश पुञ्ज चाहिन्छ।’ यस्तो हावापानी भएको ठाउँमा पान राम्रोसँग फस्टाउँछ।

कृषिका जेटिए अरुण कुशवाहाले पानको खेती समुद्र सतहदेखि ९०० मिटरको उचाइसम्म हुन सक्ने बताए। उनका अनुसार उष्ण प्रदेशीय जंगल क्षेत्रमा ठण्डा छहारी, आवश्यक आर्द्रता र अटुट रूपमा माटोमा चिस्यान हुने हुँदा पनि खेती प्राकृतिक अवस्थामा गर्न सकिन्छ।

तर अन्य क्षेत्रमा पान खेती गर्दा बगैँचामा आवश्यक छाप्रो, घेराबेरा, सिँचाइ आदिको व्यवस्था गरी उपयुक्त वातावरण बनाउनु पर्छ। तातो शुष्क हावाले लहरामा भएका कलिला पातको टुप्पा डढाइदिन्छ र ओइलाउँछ। ज्यादै चिसो हावा र तुषारोले पात झर्दछ।

वार्षिक १५ करोड रुपैयाँ बराबरको पान बिक्री

एक तथ्यांकअनुसार जनकपुरधाममा एक सातामा पाँच लाख पानको पात बिक्री हुन्छ। त्यसमध्ये ६ वटा प्रमुख बिक्रेतामार्फत तीन लाख र भारतीय बिक्रेताबाट अरू तीन लाख रुपैयाँ पानको पात बिक्री हुने गरेको छ। एक खिल्ली पानको मूल्य मीठा पत्ताको ४०–४५ र बंगला पत्ताको २०–२५ रुपैयाँ पर्दछ।

यसरी सरदर रूपमा हेर्दा यहाँ वार्षिक १५ करोड रुपैयाँ बराबरको पानको बिक्री हुने गरेको देखिन्छ। पान र पानका लागि आवश्यक सबै मसला भारतबाट आयात गरिन्छ।

प्रमुख बिक्रेता लालबाबु भगत भारतको कोलकाता र जयनगरबाट पानको पात आयात हुने गरेको बताउँछन्।

सादा पानलाई औषधिका रूपमा प्रयोग गरिन्छ तर यस्तो पान खाने कमै हुन्छन्। जर्दा पानमा सुर्ती धेरै हुने भएकाले यो स्वास्थ्यका लागि हानिकारक हुन्छ। अम्मलीहरू भने जर्दा पान नै रुचाउँछन्। जनकपुरको रामचौकमा पान पसल गर्दै आएका रञ्जित भण्डारीका अनुसार पानको पात भारतबाटै आयात गरिन्छ, पानका लागि आवश्यक सामग्री समेत भारतबाटै आउने गरेको छ। उनले दैनिक ३ हजार रुपैयाँसम्म पान बेच्ने गरेको बताउँछन्। जनकपुरमा मीठा र बंगला पान बढी मात्रामा बिक्री हुन्छ। जनकपुरमा मात्रै करिब १ हजारभन्दा बढी पान पसल रहेका छन् भने प्रदेश २ का प्रायः सबै जिल्लाका बजारमा सयौँ पान पसल सञ्चालन छन्।

पानलाई मिथिला संस्कृतिअनुसार शुभ मानिने गरिएको छ। खास गरी शुभ काममा पान अनिवार्य हुन्छ। तर त्यही पानको अनावश्यक प्रयोग र लतका कारण धेरै रकम अनुपयोगी ठाउँमा खर्च भइरहेको छ।

पूजापाठ र शुभकार्यमा प्रयोग हुनेबाहेक, बिहानदेखि बेलुकासम्म जनकपुरदेखि अन्य बजार र भित्री गाउँमा रहेका पानपसलमा बेचिने गरिएको पान खाएर थुक्ने रकमको हिसाब गर्ने हो भने करोडौँमा पुग्छ।

निम्न आय भएकादेखि आर्थिक रूपले सम्पन्न भएका, रिक्सा चालकदेखि सरकारी अधिकारीसम्मको मुखमा बिहानैदेखि पान देखिन्छ। एकाबिहानै पानपसलमा भीड सुरु हुन्छ। पान खाएर थुकेको पितले पान पसलका वरपर राताम्यै हुन्छ।

पानसँग जोडेर विभिन्न हिन्दी र नेपाली गीत पनि बनेका छन्। पानको पातसँग जोडेर प्रेमीले जसरी प्रेमिकासमक्ष आफ्ना व्यथा मात्रै प्रस्तुत गरेका छैनन्, यसको मिठासको पनि खुलेर प्रशंसा गरेका अनेक घटना यत्रतत्र छन्।

अहिले कतिपय पहाडी जिल्लाका बजारमा पनि पाउन थालेको छ। आखिर पान त पानै हो, जो कोहीलाई पनि सँगै बनाइदिने। आज पान दैनिकी बनेको छ।

कम पुँजीमा बढी मुनाफा दिने व्यापार

अर्कोतर्फ कम पुँजीमा बढी मुनाफा दिने व्यापारको रूपमा पानको व्यवसायलाई लिन सकिन्छ। पसल थाप्न सानो ठाउँ भए पुग्छ। पानका सामग्रीका लागि बढीमा पाँच हजारको लगानीमा यसको व्यापार गर्न सकिन्छ। देशका मुख्य बजार र चोक चौराहामा पानको व्यापार अत्यधिक फस्टाएको छ।

आयस्रोत कम भएर पनि छोराछोरीलाई राम्रो अध्ययन र घरपरिवार राम्रोसँग पालिरहेका व्यवसायी निकै छन्। मिहिनेतको फल मीठो हुन्छ भन्ने उखान पुष्टि गर्न सफल भएका छन् पान व्यापारी। बच्चा, परिवार, जग्गा, घर गर्दै मनग्य आम्दानीको स्रोत भएको छ अहिले पान व्यापार।

पानको सौखिन महेन्द्रनगरका वैद्यनाथ झाले पान व्यापार सस्तोमा सञ्चालन हुने राम्रो व्यापार रहेको बताए। उनले आफूलाई त बिहानदेखि बेलुकासम्म करिब ८–१० खिल्ली पान चाहिने बताए। उनले भने, ‘म त राति खाना खाएर सुत्ने वेला पनि पान खाएरै सुत्ने गर्छु।’

पश्चिम बंगालको कोलकाताबाट पानको पात आयात हुन्छ। भाडाको एउटा कोठामा बसेर जसोतसो धनुषाको महेन्द्रनगरमा पानको व्यापार थालेका अनिल झाले २० वर्षभित्र आफ्नै जग्गा खरिद गरी घर ठड्याइसकेका छन्। ढल्केबर–जनकपुर राजमार्गको महेन्द्रनगरमा झा जी पान पसल सञ्चालन गर्दै आएका उनको पसलमा गाडी रोकेर पनि पानका सौखिनहरू पान खाएर जान्छन्। ‘यो धैर्यको व्यापार हो, बिहानदेखि साँझसम्म खटिन कठिन हुन्छ तर पानकै व्यापारबाट गुजारासँगै घर समेत बनाउन भ्यायौं,’ उनले भने।

पानका पारखी शिक्षक मजिम राईनले पानको व्यवसाय राम्रो रहेको र आफू दिनमा चार–पाँच खिल्ली पान खाने गरेको बताउँछन्।

क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर हनुमान चोकमा विगत पच्चीस वर्षदेखि पानको व्यापार गर्दै आएका सुरेश पान पसलका सञ्चालक सुरेश साह पानको व्यापारबाट सन्तुष्ट छन्।

‘सबै दिन एकनासको बिक्री हुँदैन,’ उनले भने। साहले दैनिक रूपमा ५ सय बढी पान बिक्री गर्ने गरेको बताउँछन्। थोक बिक्रेताले अधिकांश पसलमा पान पुर्‍याउने गर्छन्। पानका अन्य सामग्री कत्था र सुपारी नेपालकै हो भने मीठा पानमा प्रयोग हुने सामग्रीका साथै जर्दा, चुना, पिलापति लगायतका सामग्री भारतबाट आयात गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.