|

काठमाडौं : नेपाली कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले छिट्टै नेपाल र भारतबीचमा उच्चस्तरीय राजनीतिक भ्रमण हुने बताए छन्।

भारतसँगको सम्बन्धलाई अझ सुमधुर बनाउन सरकारी स्तरबाट पनि कुनै पहल होला कि भन्ने प्रश्नको जवाफमा उनले भने, ‘अवश्य पनि हुने नै छ । अहिले रेल्वे वार्ता भएको छ। सीमा सुरक्षा छलफल सुरु भएको छ। विषयगत र विभागीय छलफलहरूले स्वरूप लिएपछि उच्च तहको वार्ता हुनेछ।’

सह महामन्त्री डा.महतले भारतीय जनता पार्टीको विदेश विभागका प्रमुखको मैत्रीपूर्ण निमन्त्रणमा आफ्नो नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउने कार्य गरेको बताए।

उनले नेकपा एमालेको नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले भारतसँग देखिएका समस्यालाई सडकमा पसार्ने गरेको तर आवश्यक ठाउँमा ‘चुँ’ पनि नबोलेको बताउँदै नेपाली कांग्रेसले वार्ताको माध्यमबाट समाधान खोज्ने नीति लिएको पनि दाबी गरे।

राष्ट्रहरूबीचको सम्बन्ध सुधारमा परराष्ट्र मन्त्रालय अग्रसर हुनुपर्नेमा राजनीतिक दल अग्रसर भएको भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘निश्चय नै द्विपक्षीय हितका विषयमा कुरा उठाउने, राष्ट्रिय स्वार्थ र आवश्यकताका विषय पहिचान गर्ने छलफल गरेर निष्कर्षमा पुर्‍याउने काम परराष्ट्र मन्त्रालय र सरकारको हो। तर जिम्मेवार राजनीतिक दलका जिम्मेवार पदाधिकारीहरूको भेटवार्तामा राष्ट्रिय चासो र चिन्ताका कुरा उठ्नु स्वभाविकै हो। यसबाट अलग हुन सकिँदैन।’

उनले पूर्ववर्ती सरकारले संविधान उल्लङ्घन गर्दै अधिनायकवादी शैलीमा राज्य सञ्चालन गर्न खोजेपछि संविधान र लोकतन्त्रको संरक्षण गर्नका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको पृष्ठभूमि उल्लेख गर्दै यसप्रति भारत चिढिनुपर्ने कुनै कारण नदेखेको बरु सद्भाव नै रहेको बताए।

नेपाल र भारतबीच देखिएको सीमा विवाद (लिपुलेक कालापानी र लिम्पियाधुरा)को बारेमा सोधिएको प्रश्नमा उनले सीमा सम्बन्धी कुरालाई बुँदागत रूपमा उठाएको बताए। उनले भने, ‘सीमासम्बन्धी विषय रातारात समाधान हुने कुरा होइन। तर छलफलमा नबसी यसको समाधान पनि निस्कँदैन। छलफलबाट साझा निष्कर्ष निस्कन्छ। छलफल अगाडि बढाउनुपर्छ।’

तुइन प्रकरणको सम्बन्धमा सोधिएको प्रश्नमा उनले यो विषय आफूले भारतीय विदेश मन्त्री र भाजपाका नेताहरूसँग खुलस्त राखेको बताउँदै भने, ‘हेर्दा सानो लागे पनि यो विषय नेपाली नागरिकहरूको भावनासँग जोडिएको छ। माथिको निर्देशन होइन तलबाटै जान अनजानमा भएको गल्तीले यस्तो भएको हुनसक्छ। हामीले आफ्नो तर्फबाट जाँच गरिसक्यौँ। तपाईँहरूले पनि गर्नुपर्‍यो भनेपछि उनहरूले गम्भीरतापूर्वक हेर्ने बचन दिनुभएको छ।’

उनले खोपको विषयमा पनि खुलस्त कुरा राखेको बताए। १० लाख डोज खोपको लागि नेपाल सरकारले पहिल्यै पैसा दिइसकेकोले सो खोप तत्काल आपूर्ति गर्न र आवश्यक पर्दा थप खोप दिने बन्दोबस्त गर्न गरिएको आग्रहको प्रसङ्ग सुनाउँदै उनले प्राविधिक कारणले त्यस बेला बैना भएको खोप दिन नसकिएको र अब  विगतमा रोकिएको खोप पनि दिने तथा थप आवश्यक खोप दिने व्यवस्था गरिने आश्वासन पाएको बताए।

पार्टीगत स्तरको सम्बन्ध विस्तारको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै सह–महामन्त्री महतले भारतीय जनता पार्टीले समान विचार राख्ने दलहरूसँग सम्बन्ध विस्तार गर्न चाहेको र लोकतान्त्रिक शासन पद्धतिप्रति प्रतिबद्ध दुवै देशका सत्तारुढ दलहरूबीचको सम्बन्धले दुई देशको सम्बन्ध न्यानो राख्न सघाउने बताए।

यस पहिले आफ्नो निमन्त्रणमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेको स्मरण गराउँदै महतले चीनको कम्युनिस्ट पार्टीले नेपाली राजनीतिक दलहरूसँग भ्रमण आदानप्रदानको सम्बन्ध कायम राख्दै आएको भए पनि भारतले पहिलो पटक थालनी गरेको बताए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटघाटलाई हिन्दु धर्मसँग निकट राखेर आलोचना हुन सक्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा महतले हिन्दु राज्य हुने नहुने विषयसँग यसको सरोकार नभएको बताए।

उनले मुख्यमन्त्री योगी आदित्यनाथले नेपालप्रति आत्मीय भाव राखेको, नेपाल बलियो भए भारत बलियो हुन्छ भन्ने मान्यता राखेको, नेपाल विश्वासिलो मित्र हो भन्दै नेपाल र नेपालीलाई भारतले सधैँ प्राथमिकता दिनुपर्छ भन्ने विचार राखेको पनि बताए।

मुख्यमन्त्रीसँगको भेटवार्तामा आफ्नो प्रतिनिधिमण्डलले काशीमा नयाँ एक्सप्रेस वे बनाउँदा त्यहाँ रहेको नेपालको ३०० वर्ष पुरानो पशुपति मन्दिरलाई क्षति नपुगोस् भन्ने विषय जानकारी गराउँदा उनले अत्यन्त सकारात्मक रूपमा लिएको पनि उल्लेख गरे।

उनले नेपालको पार्टी सञ्चालन र राज्य सञ्चालन सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले नै गर्दै आएको उल्लेख गर्दै भने, ‘हामी हिन्दु र गैर हिन्दु जे छौ नेपालभित्र नै छौ। पार्टीको चुनाव नेपाली कांग्रेसका कार्यकर्ताको सरोकार र सहभागिताको विषय हो। आम चुनाव पनि नेपाली जनताको मताधिकार र स्वविवेकको विषय हो।’

नेता महतले नेपाल हिन्दु, बौद्ध, किराँत लगायत सबै धर्म र सम्प्रदायका नेपालीहरूको साझा फूलबारी रहँदै आएको प्रसङ्ग उठाउँदै भने, ‘नेपालका सबै जातिका आफ्नै संस्कृति र परम्परा छन्।

उपत्यकाको नेवार, पूर्वका राई र लिम्बू, पश्चिमका गुरुङ र मगर, सबैतिर छरिएका बाहुन र क्षेत्री, थारु, मधेसी समुदाय सबैका अलग–अलग संस्कृति र परम्परा छन्। ती सबैको समुच्चा पहिचान नेपाल हो। यिनको संरक्षण हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।’

महतले भारतमा पनि नेपालमा जस्तै धर्म,संस्कृति र परम्परा रहेको उल्लेख गर्दै हिन्दु र बौद्ध धर्मका पवित्र तीर्थस्थल दुवैतिर भएको बताए। भारतीय जनता पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा महतको नेतृत्वमा उदयशमशेर राणा र अजय चौरसियासम्मिलित तीन सदस्यीय प्रतिनिधि मण्डलले असोज २१ देखि २५ सम्म भारत भ्रमण गरेको थियो।

प्रतिनिधि मण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डा, महासचिव अरुणसिंह, भारतका विदेश मन्त्री डा.एस जय शंकर र भाजपाका वरिष्ठ नेताहरूसँग भेट गरी बनारसको पशुपति मन्दिरको पनि अवलोकन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.