|
आइतबारदेखि भएको लगातारको वर्षाले क्षति गरेको र डुबाएको प्रदेश २ को धानखेती। तस्वीर : अजय साह

जनकपुरधाम : अन्न भण्डार मानिने तराई मधेसका जिल्लामा दुई दिनदेखि भएको बेमौसमी अविरल वर्षाले खेतमा धान डुबाएको छ। किसानले धान काटेर खेतमा सुकाए पनि धान थन्क्याउन पाएनन्।

दसैं सकिएलगत्तै धान भित्र्याउन खेत पस्नुपर्ने किसान बेमौसमी वर्षाले समस्यामा परेका छन्। आइतबारदेखि परेको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् भने काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ।

समयमै मल, बीउ र सिँचाइको असुविधाबीच पनि यस वर्ष नियमित वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई बीउ नै मासिने चिन्ता बढेको छ।

वर्षामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानीसमेत नउठ्ने चिन्ता थपेको छ।

बेमौसमी वर्षाका कारण प्रदेश २ का सबैजसो जिल्लामा धान बालीमा क्षति पुगेको छ। धनुषालगायत जिल्लाका धेरै किसानको खेतमा धान ढलेको छ। ​आइतबारदेखिको वर्षाले धान भित्र्याउन पाएनन्।

‘खेतमा धान पूरै पाकेको थियो,’ मिथिला नगरपालिका किसान शत्रुधन महतोले भने, ‘शनिबार र आइतबार काटेको धान पूरै पानीमा डुबेको छ।’ पानीमा डुबेको धानबाट चामल राम्रो नहुने उनको दुखेसो छ।

नियमित वर्षाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएका बेला परेको आकस्मिक पानीले धान बालीमा क्षति पुर्‍याएको छ।

‘चार जना मजदुर राखेर आइतबार दिनभरि धान काटें,’ क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका कुशेश्वर महतोले भने, ‘सोमबार पानीले डुबाएर आहाल बनाएको छ।’

४ कट्ठामा लगाएको सावा मन्सुली धान डुबेर नष्ट भएको उनले बताए। काटेको धान खेतमै भिजेको छ।

किसानले धान काटेर सुकाउन खेतमा राखेका थिए। कतिपयले खेतमै काटेको धान थुपारेर कुन्यु बनाएका थिए। घर आँगनमा पनि काटेको धान थुपारेका थिए।

खेत र आँगनमा थुपारेको धानसमेत भिजेको किसान बताउँछन्। ‘खेतमा थुपारेको सबै धान भिज्यो,’ वटेश्वर गाउँपालिका–५ शान्तिपुरका किसान रामदेव यादवले भने, ‘खेतसमेत पूरै डुबेको छ।’ उनले एक बिघामा फलेको धान भिजेको बताए।

कृषि ज्ञान केन्द्र धनुषाको अनुसार धनुषामा कुल ७६ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार ५ सय ४० हेक्टर जग्गामा धान खेती हुने गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ ललनकुमार सिंहले गत वर्ष धनुषामा प्रति हेक्टर ४ मेट्रिक टन धान उत्पादन भएको र यस वर्ष धान उत्पादन करिब १५ प्रतिशत बढ्ने आकलन गरिएको बताए।

तर अहिले धान काटेर भित्र्याउने बेलामा पानीले डुबाएको हुँदा क्षति पुग्ने अवस्था सिर्जना भएको बताए।

त्यसैगरी महोत्तरीमा ३५ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेको छ।

धान काटेर खेतमा राखेपछि अचानक परेको अविरल वर्षाले महोत्तरीका किसान अन्नको संकट बढ्ने आशंकाले पिरोलिएका छन्।

महोत्तरीको बलवा नगरपालिका–१० धमौराका रामचन्द्र राय भन्छन्,‘यसपालि खेतीको सबै तालिका भताभुङ्ग भयो, समयमै धान रोपाइँ गर्न नपाइने पो हो कि भन्ने  परिसक्यो ।’

धान उत्पादनमा असर परे राष्ट्रिय अर्थतन्त्र प्रभावित हुने

विभागका अनुसार धानको मुख्य पकेट क्षेत्र मानिने प्रदेश २ मा ३ लाख ६५ हजार ६ सय १५ हेक्टरमा धान रोपाइँ हुन्छ। विभागका अनुसार प्रदेशअन्तर्गतका ८ वटै जिल्ला धानको पकेट क्षेत्र हो।

जसमध्ये पनि धनुषा जिल्लामा सबैभन्दा धेरै ६५ हजार ५ सय ४० हेक्टरमा धान खेती हुन्छ। सप्तरीमा ५१ हजार ३ सय ४१, सिराहामा ४८ हजार ५ सय ८० र सर्लाहीमा ४८ हजार २ सय २९ हेक्टर जमिनमा धान खेती हुन्छ।

यस्तै पर्सामा ४४ हजार १ सय ७ हेक्टर, बारामा ४३ हजार २ सय ३ हेक्टर, रौतहटमा ३८ हजार ६ सय १९ र महोत्तरीमा ३५ हजार ५ सय हेक्टरमा धान खेती हुने गर्छ।

प्रदेश मन्त्रालयका कृषि अर्थविज्ञ विप्लवकुमार गुप्ताले धेरै पानी जम्दा धेरै भूभाग प्रभावित भएको बताए। पहिले नै लगाएको कतिपय किसानको बाली पानीकै कारण ढलेको उनको भनाइ छ।

प्रदेश २ को प्रमुख अन्न बाली रहेको धान प्रभावित भए यसले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने विज्ञहरू बताउँछन्।

प्रदेशभर गत वर्ष १२ लाख ४९ हजार ५ सय ४० मेट्रिकटन धान उत्पादन भएको बाली विकास अधिकृत मनिषकुमार पालले बताए।

यस वर्ष धान उत्पादन केही प्रतिशत बढ्ने विश्वास व्यक्त गरिए पनि वर्षाले क्षति पुर्‍याउने अवस्था देखिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.