|
पहिरोले गन्यापधुरा गाँउपालिका–१ भात्काडामा पुरेको घरमा उद्धारका लागि पुगेका सुरक्षाकर्मी। पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। तस्वीर : प्रकाश पार्की

डडेल्धुरा : सुदूरपश्चिममा पहिरोले ३ जनाको मृत्यु भएको छ। डोटीमा २ र डडेल्धुरामा एक जनाको मृत्यु भएको हो।

३ दिन देखिको अविरल वर्षाले घरमा पहिरो खस्दा डडेल्धुरामा एक जनाको मृत्यु भएको हो।

जिल्लाको गन्यापधुरा गाँउपालिका–१ भात्काडामा सन्ध्या फेन्सी स्टोर चलाएर बसेका ३२ वर्षीय विष्णुप्रसाद अवस्थीको घरमा पहिरो खस्दा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए।

सोमबार राति करिब साढे १२ बजे घरमाथिबाट खसेको पहिरोमा च्यापिएर मृत्यु भएको मृतकका आफन्त भोजराज जोशीले बताए।

घरपछाडि रहेको भान्साबाट पानी सहितको लेदो भित्र पस्न थालेपछि पन्छाउने क्रममा टिनको छानामाथिबाट पहिरो खसेको थियो। उनीसँगै रहेका श्रीमती र छोराछोरीको स्थानीयले उद्धार गरेको जनाइएको छ।

उनकी छोरी ६ वर्षकी सरितालाई च्यापिएको अवस्थामा प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको स्थानीय दत्तराज भट्टले बताए। बालिका सकुसल रहेकी, बाहिरको कोठामा रहेका श्रीमति, छोरी र छोरा सकुशल रहेका छन्। तर, पसल भने पूर्ण रुपमा क्षति भएको छ।

यसैबीच जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ। अमरगढी नगरपालिका–१ को तडिपाटामा पहिरो जाँदा स्थानीय भीमबहादुर रावलको घर, गाईगोठ र कुखुरा फार्ममा पूर्ण क्षति भएको छ।

ढुंगाको स्लेटले बनेको दुईतले ४ कोठाको पक्की घर पूर्ण क्षति भएको छ। पहिरोले घरमा बस्ने रावलकी बुहारी करिब २४/२५ वर्षकी देवकी रावलको दाहिने हातमा चोट लागेको छ।

७ वर्षको ग्रिस रावलको टाउकोमा सामान्य चोट लागेको छ। घरको गोठमा रहेको एउटा भैंसी, एउटा गाई, एउटा गोरु, बाख्रा २, २०/२२ वटा कुखुरा र घरभित्र रहेको भाँडाकुँडा, खाद्यान्न सबै पुरिएको छ।

पहिरोपछि घरमा रहेका सबैको उद्धार गरिएको र मानवीय क्षति नभए पनि पशुचौपाया मरेका छन्। नजिक रहेका आफन्तले पहिरोको आवाज सुनेपछि राति नै घटनास्थल पुगेर उद्धार गरेको प्रहरी नायव उपरीक्षक नेपालले बताए।

बढेको खोलाका बीचबाट उद्धार

यसैबीच परशुराम नगरपालिकामा रंगुन नदीको बीच भँगालोमा अलपत्र परेका ५ जनाको उद्धार गरिएको छ। सोमबार रातिदेखि नदीको बीचमा रहेका ५ जनालाई मंगलबार दिउँसो ट्युबमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

बाढी तथा पहिरोको जानकारी प्राप्त भएको ठाँउमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए।

अत्यधिक वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लाको नेपाल टेलिकमको टेलिफोन, विद्युत, इन्टरनेटलगायत सम्पूर्ण सेवा ठप्प भएका छन्। 

ठाउँठाउँमा साना तथा ठूला पहिरोका कारण राजमार्ग अवरुद्ध भएका छन्। विद्युत नहुँदा जिल्लामा रहेका सञ्चारमाध्यम रेडियो, पत्रिका, अनलाइन सबै पूर्ण रुपमा बन्द रहेका छन् भने बजार पनि बन्द रहेकाले जनजीवन प्रभावित भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.