|

काठमाडौं : लामो समयदेखि सुनसान रहेको फिल्म क्षेत्र चलायमान बनाउन असोज २६ गते फूलपातीको अवसर पारेर नेपाली फिल्म 'डाँडाको बर पीपल' प्रदर्शनमा आयो।

सरकारले फिल्म हल खोल्न अनुमति दिएको तर कुनै पनि निर्माताले फिल्म प्रदर्शन गर्ने जोखिम उठाउन नसकिरहेको अवस्थामा 'डाँडाको बर पीपल' प्रदर्शनमा आउनु नेपाली फिल्म उद्योगकै लागि सुखद समाचार थियो। 

सामान्य अवस्थामा दशैँमा फिल्म प्रदर्शनको लागि ठूलै प्रतिस्पर्धा हुने गर्छ। दशैँमा प्रदर्शन भएका फिल्मले राम्रै कमाइ गरको उदाहरण पनि छन्।

तर, यसपालि भने दशैँमा एकल प्रदर्शन गरेको 'डाँडाको बर पीपल'ले भने राम्रो प्रदर्शन गर्न सकेको छैन।

प्रदर्शन सुरु गरेको एक दुई दिन केही दर्शक हलमा पुगे पनि एक साता नबित्दै 'डाँडाको बर पीपल' हलबाट उत्रने अवस्थामा पुगेको छ। दर्शक संख्या एकदमै न्यून भएपछि हलहरूले पनि फिल्मको शो घटाएका छन्। 

यतिबेला बिएसआर मुभिजले 'डाँडाको बर पीपल'लाई सबैभन्दा धेरै दुई शो दिएको छ भने क्युएफएक्स, वान सिनेमाज् र एफक्युब सिनेमाज्‌ले समान एकएक शो दिएका छन्।

यी बाहेक सिडिसी सिनेमाज्, क्युज सिनेमाज् र बिग मुभिजबाट डाँडाको बर पीपल उत्रिसकेको छ। 

'डाँडाको बर पीपल' बाहेक यतिबेला हलमा दुई वटा हलिउड फिल्म 'नो टाइम टु डाई' र 'फास्ट एन्ड फ्युरियस ९' पनि प्रदर्शनमा छन्।

तुलनात्मक रुपमा 'डाँडाको बर पीपल'ले भन्दा बढी शो र दर्शक पाए पनि हलमा भएका अरु फिल्मको अवस्था पनि उस्ताे राम्राे छैन। 

शोभित बस्नेतको निर्देशनमा बनेको 'डाँडाको बर पीपल'मा शिव श्रेष्ठ र गौरी मल्ल मुख्य भूमिकामा देखिएका छन् भने सलोन बस्नेत, रुविना थापा, भुवन केसीलगायत कलाकारको अभिनय छ। 

कोरोनाको त्रास बाँकी नै रहनु र पछिल्ला केही दिनदेखिको लगातार वर्षाका कारण दर्शक हलसम्म नआएको विश्लेषकको भनाइ छ। साथै फिल्म प्रदर्शन हुनुअघि उब्जिएको महानायक विवादले पनि फिल्मलाई असर पारेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.