|

बझाङ : लगातारको वर्षाका कारण सेती नदीमा पानीको वहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ।

मनसुन बाहिरिएको भएपनि मौसममा आएको परिवर्तनसँगै भएको अविरल वर्षाका कारण सेती, कालंगा नदी, र बाहुली खोलालगायतका साना ठूला खोलामा पानीको बहाव बढेको छ।

नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले बाढीको खतराको संकेत नजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ। सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बढेकाले काठ उतार्न, माछा मार्न र पानीसँग खेल्न, नदी खोला नजिक नजान आग्रह गरेको छ।

सेती नदी र बाहुलीगाडमा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ। जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानीय निरनराम जोशीले बताए।

उनले भने,‘बाहुली खोलाले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गरेकै हुन्छ। बहुलीगाडले बेला–बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ। सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ।’

बाहुली खोलाको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन भएर सेती नदी र बाहुलीगाड तर्फ तटबन्धन गरिएको छ। लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसिसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ। त्यस्तै सिमखेत बजारका एउटा अटोपार्टस बगाएको छ, भने एक घर जोखिममा छ। बाहुली खोला किनारमा रहेका बंगुर र कुखुराका खोरहरू बगाएको छ।

विधुत र सञ्चार सेवा अवरुद्ध

तीन दिनदेखि घाम नलाग्दा बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ। सौर्य उर्जामा निर्भर बझाङका टेलिफोन टावरहरूमा राखिएको सोलारमा चार्ज नहुँदा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो।

लगातारको वर्षाले जिल्लामा के कति क्षति पुर्‍यायो भनेर तथ्यांक संकलन गर्न नसकिएको प्रहरीले जनाएको छ। नेपाल टेलिकम शाखाका निमित्त प्रमुख वमबहादुर सिंहले टेलिफोनका टावरहरूमा विधुत सेवा नपुगेको र सोलार प्यानलबाट चार्ज नहुँदा लामो समय पानी परेको र बादल लागेको दिन नेटवर्क अवरुद्ध हुने गरेको बताए।

सौर्य उर्जाको भरमा संचालित बझाङका एफएम रेडियोको प्रसारण पनि अवरुद्ध भएको छ। जिल्लामा रहेका नौ वटै एफएम रेडियोको रिले स्टेसनमा सौर्य उर्जा जडान गरिएको छ। रिले स्टेसनमा घाम नलाग्दा ब्याट्री चार्ज हुन नपाएकोले सोमबार साँझबाट सबै रेडियोको नियमित प्रसारण अवरुद्ध भएको छ।

आइतबार साँझदेखि जिल्लामा विधुत सेवा पनि अवरुद्ध छ। विधुत सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प भएका छन्। प्रादेशिक विद्युत प्राधिकरण अत्तरियाका अनुसार राष्ट्रिय प्रसारण लाइन पुगेका ६ पहाडी जिल्लामा विद्युत अवरुद्ध भएको छ। हावाहुरी तथा अविरल वर्षाका कारण अत्तरिया चमेलिया प्रसारण लाइनमा समस्या देखिदा विधुत सेवा अवरुद्ध भएको छ।  

जयपृथ्वी राजमार्ग पनि अवरुद्ध

अविरल वर्षाका कारण आइतबार रातिदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। केदारस्युँ गाउँपालिकाको नारुगौडामा बाढीले सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको हो।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहे पनि वर्षाका कारण नारुगौडामा पानीको वहाव बढेकाले राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरूबीच बाटोमै अलपत्र परेका छन्।

वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति भएको छ। पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित बनेका छन्। लगातारको वर्षाले सेती र कालंगा नदीका तटिए क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ।

धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ। पाकेर ठिक्क भएको र काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको जयपृथ्वी नगरपालिका–५ का नरेश सिंहले बताए। धान काटीसकेको भएपनि चुट्न बाँकी रहेको र धान काटेर खेतमै सुकाउन राखेको अवस्थामा पानी पर्दा धानमा क्षति भएको सिंहको भनाई छ।

पानीले जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलो, डुग्री, पडेस, साइलाबगर, केदारस्युँ गाउँपालिकाको झोता, देउरा, बुङगल नगरपालिकाको सट्टाय, विजगडा, गिरौलगायतका जिउलामा काटेर सुकाउन राखिएको धान पानीले भिजेर क्षति भएको हो।

बाहुली खोलामा आएको बाढीले जिल्ला सदरमुकाम चैनपुरको खोला छेउमा रहेका दुई वटा पोल्टी फर्म, बंगुर फर्म बगाएको छ। विभिन्न ठाँउमा गएको पहिरोले सयौ परिवार विस्थापित भएका छन्। बाढीका कारण लघु जलविधुत आयोजना, नहर, विद्यालय, ग्रामिण सडकमा क्षति पुगेको छ।

पहिरोले सयौं रोपनी खेत पनि बगाएको छ। मोवाइलमा नेटवर्क नहुँदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.