|

काठमाडौं : इजरायल रोजगारीका लागि नेपाली कामदार पठाउने प्रक्रिया  अन्तिम चरणमा पुगेको छ। बुधबार इजरायल सरकारसँग छलफल गरी कहिले‚ कति, कसरी पठाउने भन्ने टुंगो लाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ। 

इजरायल सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि पहिलो चरणमा एक हजार कामदार माग गरेको छ। रोजगारीका लागि परीक्षामा एक हजार ६०० जना छनोट भएका थिए। जसमध्ये चिठ्ठा प्रक्रियाबाट १ हजार १७५ जना छनोट भएका छन्। चिठ्ठा प्रक्रियाबाट छनोट भएका सबै पठाउने वा एक हजार जना मात्र पठाउने भन्ने विषयमा बुधबार छलफल हुने वैदेशिक रोजगार विभागका इजरायल शाखा प्रमुख डम्बर सुनुवारले बताए। 

विभागले भाषा परीक्षा र अन्तर्वार्ताबाट छानिएकाको सूची गत १० असोजमा  सार्वजनिक गरेको थियो। नेपाल र इजरायल सरकारबीच भएको श्रम सहमतिअनुसार ७० प्रतिशत महिला कामदार र ३० प्रतिशत पुरुष कामदार छनोटमा परेका विभागले जनाएको छ।

चिट्ठाबाट छनोट भएका कामदारको सूची तयार पारी नेपालस्थित इजरायली राजदूतावासमार्फत पिआइबिएमा पठाइने विभागले जनाएको छ। अन्तिम सूचीमा परेका कामदारलाई चिठ्ठाबाट छनोट गर्ने काम इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी (पिआइबिए)ले गर्ने छ। पिआइबिएको मागअनुसार कामदार पठाउन सुरु गरिने शाखा प्रमुख सुनुवारले बताए।

यसअघि सरकारले  सन् २०१५ मा इजरायल रोजगारीमा लागि नेपाली पठाउन सुरु गरेको थियो। इजरायल सरकारले प्रविधिक कारण देखाउँदै नेपालबाट सन् २०१८ बाट कामदार लिन छाडेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.