पसल तथा गोदामहरुमा पानी छिर्दा करोडौँको लत्ताकपडा, इलेक्ट्रोनिक्स सामानमा क्षति

|
आइतबारदेखि परेको अविरल वर्षाले जलमग्न जनकपुरधामको प्रवेशद्वार। तस्वीर : अजय साह

जनकपुरधाम : आइतबारदेखि परेको बेमौसमी अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्। लगातारको वर्षाले उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन्।

जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो ठाउँका घरभित्र पानी पसेको छ।

जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ।

जनकपुरका अधिकांश पसल तथा गोदामहरुमा पानी छिर्दा करोडौँ मूल्यका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामानमा क्षति पुगेको छ।

शिव चोकस्थित अनित इम्पोरियमका सञ्चालक गुडु सुल्तानियाका अनुसार उनको तथा उनका काका पशुपति सुल्तानियाको इलेक्ट्रोनिक्स पसल तथा गोदाममा पानी छिर्दा लाखौँ मूल्य बराबरको वासिंग मेसिन, टेलिभिजन, एसीलगायत सर सामानमा क्षति पुगेको छ। 

त्यसैगरी शिव चोकमै रहेको नवरङ होटेलमा पानी छिर्दा स्टोर गरेर राखेको चामल, दाल, तरकारी जस्ता सामान नष्ट हुनुको साथै फ्रिजमा समेत पानी पसेर क्षति पुगेको छ।

एशियाली विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्तर्गत १ अर्बको लगानीमा दुई वर्षअघि मात्र तयार भएको अन्डरग्राउन्ड ढल भएर पानी पास हुन नसक्दा नगर क्षेत्र डुबानमा परेको हो।

एशियाली विकास बैंकको एकीकृत शहरी विकास आयोजनाद्वारा नगरमा गरिएको सडक स्तरोन्नतिमा ढल व्यवस्थापन राम्रोसँग नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन्। बस्तीहरू समेत डुबानमा परेर स्थानीय मर्कामा छन्।

यद्यपि अविरल वर्षाले कुनै मानवीय क्षतिका घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.