|
पहिरोले गन्यापधुरा गाँउपालिका–१ भात्काडामा पुरेको घरमा उद्धारका लागि पुगेका सुरक्षाकर्मी। पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। तस्वीर : प्रकाश पार्की

डडेल्धुरा : सुदूरपश्चिममा आइतबारदेखि परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेको छ। प्रदेशमा वर्षासँगै आएको बाढीपहिरेमा परी मृत्यु भएका १२ जनाको सनाखत भएको छ।

सनाखत हुनेमा डोटीका ९, डडेल्धुराका दुई र बैतडीका एकजना मृतक रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिए।

उनका अनुसार डोटीको जोरायल गाउँपालिका- ३ नवलपुर बस्ने जोगी सार्कीको घरमाथिबाट पहिरो खस्दा सार्कीसहित ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पबित्रा विक, रविन विकको मृत्यु भएको छ।

यस्तै, शिखर नगरपालिका-११ मा ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ। गोपघाट बजारबाट घर जाने क्रममा माथिबाट पहिरोसँगै आएको ढुंगा टाउकोमा लाग्दा घाइते भएकी उनको सुजङ अस्पताल राजपुर डोटीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा छन्।

डडेल्धुरामा दुई मृत्यु

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए।

त्यस्तै, डडेल्धुरामै खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो।

घरनजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीय प्रदीप शाहीले बताए। खोलाले बगाएपछि करिब ५ सय मिटर तल उनको शव भेटिएको प्रदीप शाहीले बताए।

बैतडीको सुर्नया गाउँपालिका-५ विष्टपाली बस्ने खडकसिंह विष्‍टको घरको माथिबाट पहिरो जाँदा ७१ वर्षीया परुदेवी महराको मृत्यु भएको छ। प्रहरीले बैतडीको शिवनाथ गाउँपालिकाका मृतकको नाम भने सनाखत गरेको छैन।

यस्तै, डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुईजना पहिरोमा परी घाइते भएका छन्। यसैगरी बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्।

जिल्लाको थलारा गाँउपालिका-४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक चन्दले बताए।

उनका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन्।

बेपत्ता हुनेमा हाशुदेवी पार्की, आयुश पार्की, सिमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, परभास सार्की, भुमिका सार्की, सिरन्जिबि सार्की, ईश्वरा देवी सार्की, संदिप सार्की र सबिना सार्की रहेका छन्।

यस्तै, सरोज सार्की, सर्मिला कुमारी सार्की, पम्मा सार्की, सुवास सार्की, बिकाश सार्की, मदन सार्की, कलु सार्की, र एलिशा सार्की पनि बेपत्ता छन्।

यस्तै, डोटीको सायल गाउँपालिका-१ रोकाया गाउँ बस्ने ७४ वर्षीय वीरे रोकाया स्थानीय छपाली बजारबाट घर जाने क्रममा घरनजिकै रहेको हुगे खोलाले बगाएर बेपत्ता छन्।

यसैगरी, कैलालीमा पनि चारजना बेपत्ता छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-३ का ६१ वर्षीय खडकबहादुर घर्तीमगर, सोही ठाउँका ३५ वर्षीय विक्रम घर्तीमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरू कर्णालीमा माछा मार्न गएका थिए। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यसैगरी गणेश आउजी खुटिया खोलाले बगाउँदा बेपत्ता छन्।

सुदूरपहाडमा राजमार्ग अवरुद्ध हुँदा यातायात पूर्णरूपमा बन्द छन्। बिजुली, नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट पनि अवरुद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.