|
झरीले अस्तव्‍यस्त बनेको मुस्ताङ रोड सडक : तस्वीर ध्रुवसागर शर्मा

म्याग्दी : आइतबार रातिदेखि सुरु भएको बेमौसमी वर्षा बुधबार बिहानसम्म पनि नरोकिँदा हिमाली जिल्ला म्याग्दीको जनजीवन अस्तव्यस्त बनेको छ।

सडक हिलाम्ये हुँदा यातायातका साधनहरु संचालन हुन सकेका छैनन्। दशैंमा आफन्तसँग टीका थाप्न गाउँमा आएका, बिदामा पर्यटकीय क्षेत्रमा घुम्न र रमाइलो गर्न आएका पर्यटक तथा काम विशेषले ओहोरदोहोर गर्नुपर्ने सर्वसाधारणहरु सडकमा सवारी साधन नचलेपछि अलपत्र परेका छन्।

किसानले बल्लबल्ल लगाएको खेती ढलेर दाना झरेका छन्। डाँठ मात्र बाँकी रहेको खेतबारी हेरेर यहाँका किसान आँसु चुहाउन बाध्य छन्।

तीन दिनदेखिको वर्षाका कारण बेनी–जोमसोम सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। यता ग्रामीण सडकहरुमा समेत सवारी साधन संचालन हुन नसकेका स्थानीय वासिन्दाहरुले बताएका छन्। सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीमाक्षेत्रबाट सवारीसाधान आउजाउ गर्न सकेका छैनन्। सोही कारण दर्जनौं गाडी विभिन्न ठाउँमा अलपत्र परेका छन्।

तीन दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक अझैसम्म पनि सञ्‍चालन हुन नसक्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने यात्रुहरु जोखिमयुक्त बाटोमा पैदल हिँडेर आवतजावत गर्न बाध्य भएका दानका पर्यटन व्यवसायी इन्द्रमान शेरचनले जानकारी दिए।

उनका अनुसार रुप्से झरना, काभ्रेभीर र डुम्रीभीरमा बढी समस्या भएको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले वर्षा नरोकिएकोले  जोखिम मोलेर अहिले मुस्ताङ नजान सर्वसाधारणलाई  अनुरोध गरेका छन्। मंगलबार (हिजो) बिहान एकपटक सबै साना गाडी पास गराएको भएपनि  ठूला गाडी आवतजावत गर्नसक्ने अवस्था नरहेको उनले बताए। 

बाटो बिग्रिएपछि म्याग्दीको बेनीबाटै गाडी प्रवेशमा रोक लगाइएको छ। लकडाउन र बाढी पहिरोपछि दुई साताअघि मात्रै बेनी–जोमसोम सडक खुलेको थियो। दानादेखि घाँसासम्मको करिब पाँच किलोमिटर दुरी सबैभन्दा जोखिमपूर्ण रहेको यातायात व्यवसायीहरुले बताएका छन्।

बाटो अवरुद्ध भएपछि मुस्ताङ घुम्न गएका पर्यटकहरू समस्यामा परेका छन्। ठेकेदारले समयमा काम नगर्दा पहिरोसँगै सडक पनि हिलाम्मे भएको छ। सबैतिर खाल्डैखाल्डा छन्। बेनीदेखि जोमसोमसम्मको सडक स्तारेन्नति गर्न साढे दुई अर्बभन्दा बढीमा ठेक्का लागेको छ। चार खण्डमा ठेक्का दिएकोमा कोरलादेखि जोमसोमसम्म काम भैरहेको छ। समरको भीरदेखि स्याङबोचेसम्म काममा ढिलाइ भएको जनाइएको छ।

सडक हिलो भएपछि डोजरले गाडी तानेर पास गराईरहेको प्रमुख जिल्ला अधिकारी रानाले बताएका छन्। ‘प्रहरी खटाएका छौं, डोजरले गाडी तानिरहेको छ, उनले भने, डुम्रीभीरको बाटो नभएपछि व्यक्तिगत जग्गाबाट साना गाडीहरु पास गराएका हौं।’

उनले वर्षा जारी रहेकाले अहिले मुस्ताङ भ्रमणको योजना नबनाउन पनि आग्रह गरेका छन्। मुस्ताङका साना खोलाहरुमा समेत बाढी आएकोले समस्या भएको मुस्ताङबाट सुशीलबाबु अनुरागीले जानकारी दिए।

बुधबार (आज) पनि मौसम बदली भई वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।

त्यसैगरी, देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आवश्यक सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई अपिल गरेको छ।

किसानहरुले खेतबारीमा लगाएको धान र कोदोबाली कामै नलाग्नेगरी नष्ट भएको जनाएका छन्। थन्क्याउने बेलाको धान र कोदो खेतबारीमा नै खेर गएपछि वर्षभरी के खाने भन्ने चिन्ताले कृषकहरु रन्थनिएका बरंजाबाट केपी सापकोटाले जानकारी दिए।

जिल्लाका  बरंजा,अर्मन,बाबियाचौरु,राखु भगवती,पिप्ले,रत्नेचौर,ज्यामरुककोट,बगरफाँट,पुलाचौर लगाएतका ठाउँहरुमा लगाइएको धानबालीमा वर्षाका कारण क्षति पुगेको किसानहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.