|

रुकुम (पूर्व) : रुकुम पूर्व र बागलुङको सीमाक्षेत्रमा रुकुम पूर्वको भूमे गाउँपालिकाले पर्यटन विकासका लागि लगानी गर्ने भएको छ।

भूमे गाउँपालिका–१ र बागलुङको निसीखोला गाउँपालिका–५ र ६ सँगको सीमा विवाद नरहेको क्षेत्रमा भूमे गाउँपालिकाले पर्यटन विकासका लागि लगानी गर्ने भएको हो।

निसीखोला–५ सँगको सिमाना रहेको पूजाखैमा दुबै जिल्लाको सम्झदारीमा भूमेले पर्यटन प्रवर्धनका लागि विकास गर्न थालेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिए। पूजाखैस्थित सीमाक्षेत्रमा बुकी पाटनको आफै भ्यूटावरको रूपमा अवस्थित रहेको छ।

उक्त ठाउँलाई पर्यटन प्रवर्धन गरी पर्यटक भित्र्याई युवालाई व्यावसायिक बनाउने उद्देश्यका साथ पूजाखैसम्म सडक मार्ग पुर्‍याउन लागिएको अध्यक्ष बुढाले बताए।चालू आर्थिक वर्षमा प्रदेश र गाउँपालिकाको ३०/३० लाख गरी ६० लाख रुपैयाँले सडक खन्न लागिएको अध्यक्ष बुढाले जानकारी दिए।

मध्यपहाडी लोकमार्ग रानीवासदेखि कुइपासम्म सडक पुर्‍याउने र त्यहाँबाट आधी घण्टा पैदल मार्ग हिँडेर पूजाखै पुगी पर्यटकले बुकी पाटनको मनोरम दृश्य अवलोकन गर्नेछन्। उक्त ठाउँमा पर्यटकको ओइरो लागेपछि युवाहरूले होटल व्यवसाय गरी आयआर्जन गर्न सक्ने गाउँपालिकाका अध्यक्ष बुढाको भनाइ छ। निसीखोला–६ सँगको सीमाक्षेत्रमा भने केही सीमा विवाद रहेकाले अहिले समाधानका लागि प्रयास भइरहेको बताइएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.