|

इलाम : अविरल वर्षासँगै आएको बाढीपहिरोले इलाममा ७ जनाको मृत्यु भएको भने ११ बेपत्ता भएका छन्। यसैगरी जिल्लाका विभिन्न सडकखण्ड क्षतिग्रस्त भएका छन्।

इलामको फाकफोकथुम गाउँपालिका १ ठिङगेपुरमा २ जनाको मृत्यु भएको छ। पहिरो खसी नरबहादुर शेर्माको घर पुरिँदा घरभित्र रहेका ४ जना पुरिएकोमा स्थानीयले तत्काल बाहिर निकालेका थिए। नरबहादुर र उनका १८ वर्षीय छोरा खगेन्द्र शेर्माको उद्धार गरिएको छ। तीमध्ये २ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ३० वर्षीया बिना शेर्मा लावती र १४ वर्षीय आइतबहादुर राई छन्।​

फाकफोकथुमकै सल्लेरीस्थित नैनसिंह कटुवालको घर पहिरोले पुरिँदा ४ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ८६ वर्षीय नैनसिंह कटुवाल‚ ७५ वर्षीया रणजता थापा‚ १५ वर्षीया निशाना कटुवाल र १२ वर्षीय निश्चित कटुवाल छन्।

यसैगरी सूर्योदय नगरपालिका-३ मेलबोटेमा पहिरोले घर बगाउँदा ४९ वर्षीया नारायणीदेवी मोतेको मृत्यु भएको छ। देउमाई नगरपालिका-२ बस्ने ५० वर्षीय दीपक आचार्य र उनकी श्रीमती ४५ वर्षीया सरिता आचार्यलाई खोलाले बगाई बेपत्ता भएकामा बुधबार सरिताको लास फेला परेको छ।

सूर्योदय न.पा.वडा नं.३ जिलगाउँस्थित घर पहिरोले बगाउँदा घरधनी विष्णुमाया तामाङ र उनका १७ वर्षीय छोरा विशाल तामाङको शव फेला भेटिएको प्रहरीले जनाएको छ।

माई न.पा. ३ बस्ने वर्ष २५ की तेजमाया राई बाख्रा चराउन गएका वेला वर्षाका कारण रूखको हाँगा भाँचिई घाइते भएपछि बी एन्ड सी अस्पताल झापामा उपचारकै क्रममा मृत्यु भएको छ।

माङसेबुङ गा.पा. ६ मा हरिप्रसाद राईको घर पहिरोले पुरिँदा घरमा रहेका ६ जनामध्ये हरिप्रसाद‚ उनकी श्रीमती रनसरी राई‚ निजको छोरीहरु कविता राई र हरिमाया राई बेपत्ता रहेका छन्।

फाकफोकथुम गाउँपालिका वडा नं. २ धार्नेखोप भन्ने स्थानमा यामबहादुर भट्टराईको गोठ पहिरोले बगाउँदा ४ वटा गाई, १० वटा खसी, २ वटा बाख्रा र २ वटा घर जोखिममा रहेको बताइएको छ।

माङसेबुङ गाउँपालिका ६ स्थित प्रहरीचौकी साकफारामा पहिरो आएपछि सशस्‍त्र बेस क्याम साकफारामा सारिएको छ। इलाम नगरपालिका १० गोदकस्थित मेची राजमार्ग र सूर्योदय नगरपालिका-१० गुम्बाडाँडास्थित मेची राजमार्गमा भएको अवरोध प्रहरी चौकी तीनघरेबाट खटिएको टोलीले खुला गरेको छ। त्यसैगरी सूर्योदय नगरपालिका-८ मालुमस्थित फिक्कलबाट श्रीअन्तु जाने बाटोमा खसेको पहिरो पन्छाई बाटो सञ्चालनमा आएको छ।

यसैगरी इलाम नगरपालिका-४ छ्यारछ्यारेस्थित मेची राजमार्गमा बाटो मुनिबाट २२/२३ फिट लम्बाइ र २/२.५ फिट चौडाइ बाटो भासिएको छ।

मेची राजमार्गअन्तर्गतका अनगिन्ती स्थानमा पहिरो गई राजमार्गमा पूर्ण रूपमा अवरोध भएको प्रहरीले बताएको छ। प्रहरीले राजमार्ग सुचारु गराउन स्थानीय सरकार र सडक विभागसँग समन्वय गरिरहेको जानकारी दिएको छ।

फाकफोकथुम ५ लुम्दे बस्ने डिकबहादुर मुखियाको घर पहिरोले पुरेको छ। साथै सोही ठाउँ निवासी गोविन्द मुखिया र कुशल मुखियाको घर खतरामा रहेको प्रहरीले बताएको छ।

माङसेबुङ गा.पा. १ दोभानस्थित कच्ची सडकखण्डको देउमाई खोलामा रहेको पक्की पुल बगाएको छ। देउमाई न.पा.१ मेची राजमार्गअन्तर्गत कुखुरे भन्ने स्थानमा सडक भासिएको र सवारी साधन आवतजावत गर्न नसक्ने अवस्थामा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.