|

सोलुखुम्बु : निरन्तरको वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरापिक क्षेत्रमा फसेका छन्। जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मंगलबार दिउँसोदेखि उनीहरू हिउँमा फसेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण ५७०० मिटरको  मेराला ओडारमा ४ जना, हाइक्याम्पमा ४ जना र  ५३०० मिटरको बेसक्याम्पमा २ जना आरोही फसेका हुन्।

 प्राप्त जानकारीअनुसार मेरालामा फसेका ४ मध्ये १ बेलायती नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइडहरू पासाङ छिरिङ, छेतेन शेर्पा र पासाङ शेर्पा छन्।

त्यस्तै, हाइक्याम्पमा १ विदेशी पर्यटक, पूर्ण थापामगरसहित नाम नखुलेका दुईजना र बेस क्याम्पमा नाम नखुलेका थप दुई जना अलपत्र परेका हुन्।

उनीहरू एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरापिक आरोहणमा गएका थिए। प्रतिकूल मौसमबीच पनि उनीहरूको उद्धारका लागि महाकुलुङको खारेबाट ७ जना  क्लाइबिङ गाइड मेराला ओडारमा पुगेका छन्।

एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार मेराला ओडारमा ४ जना बसेको भए पनि उद्धारमा पुगेकाहरूले तीन जनालाई मात्रै जटिल अवस्थामा भेटेको बताए।

अन्यको अवस्थाका बारेमा केही पनि जानकारी नभएको उनको भनाइ छ। हाइक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भए पनि मेराला ओडारमा फसेकाहरूसँग कुनै पनि खानेकुरा नहुँदा समस्या भएको उनको भनाइ छ।

'मेराला ओडारमा भेटिएका तीनजनाको अवस्था जटिल छ भन्ने खबर आयो' कार्कीले भने, 'हिजोदेखि हेलिकोप्टर तयारी अवस्थामा राखेर बसियो तर मौसम प्रतिकूल हुँदा समस्या भयो, अहिले पनि म नागरिक उड्यान प्राधिकरणको कार्यालय काठमाडौंमै छु।' मौसम अनुकूल हुनसाथ उद्धारका लागि हेलिकोप्टर पठाइने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.