|
फाइल तस्वीर

हेटौंडा : बागमती प्रदेश सरकारले वर्षाले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्ने भएको छ। 

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबारदेखि निरन्तर भइरहेको वर्षाले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न थालेको हो।

मन्त्रालयले ‘र्‍यापिड रेस्पोन्स टीम’ गठन गरेर अविरल वर्षाबाट प्रदेशको चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुलीलगायत जिल्लामा बालीमा भएको क्षतिको लगत संकलन सुरु गरिएको जनाएको छ।

मन्त्रालयले वर्षाका कारण कृषकमा परेको असरबारे थप योजना तयार पार्न क्षतिको यथार्थ विवरण एकीन गरी सम्बन्धित कृषि ज्ञान केन्द्र वा मन्त्रालयमा सम्पर्क गरी उपलब्ध गराउन आग्रहसमेत गरेको छ।

क्षति आकलनपश्चात्‌ बालीमा भएको असर एवम् प्रभावको आधारमा प्रभावित कृषकको समस्या सम्बोधन गर्दै जाने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आपतकालीन, आकस्मिक रोग/क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत चालु आवका लागि विनियोजन गरेको १ करोड रकमलाई आवश्यकता र क्षतिको तथ्याङ्कका आधारमा कार्यविधि निर्माण गरी कृषकलाई राहतस्वरुप उपलब्ध गराउने तयारी गरेको छ।

तत्काल कृषि बालीमा पुगेको क्षतिको विवरण संकलन गर्ने र प्रभावित कृषकका लागि नीतिगत सम्बोधन गर्दै जाने तयारीका साथ काम गरिरहेको मन्त्रालयको सचिव शरणकुमार पाण्डेले बताए।

पाण्डेले प्रदेशमा रहेका १ सय १९ वटै स्थानीय तह र कृषि ज्ञान केन्द्रमार्फत विवरण संकलन गर्ने काम सुरु गरिएको जानकारी दिए।

वर्षाबाट उत्पन्न विषम परिस्थितिले अप्रत्यासित रुपमा बालीमा भएको नोक्सानीबाट कृषकहरुले बेहोर्नुपरेको आर्थिक क्षतिका सम्बन्धमा मन्त्रालयले राहत उपलब्ध गराउने तयारी गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.