|
सिलिण्डरसहित पक्राउ परेका तीन जना। तस्वीर : श्रृजना नेपाल

हेटौंडा : मकवानपुर प्रहरीले अनधिकृत रूपमा बाटोमै बुलेटबाट ग्यास चोरी गरी सिलिन्डरमा भरेर बेच्ने ३ जना पक्राउ गरेको छ।

मनहरी गाउँपालिका–६ नयाँ बस्तीमा स्थानीय ४३ वर्षीय भरत कार्कीको होटलबाट विभिन्न कम्पनीका १८ थान खाली सिलिन्डर र ग्यास भरेको १३ थान गरी जम्मा ३१ थान सिलिन्डरसहित सञ्चालक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले एनएल ०१ एन ०१३१ नम्बरको बुलेटका चालक भारत घर भएका चुनुकुमार र युपी ७० बिटी ९९९६ का बुलेटचालक भारतै घर भएका विपिन कुमारलाई पनि पक्राउ गरेको छ।

कार्कीले अन्य पसलको तुलनामा सस्तोमै खाना पकाउने ग्यास बिक्री गरेको थाहा पाएपछि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिसिलिण्डर १५ सय रुपैयाँ पर्ने एलपी ग्यास कार्कीको पसलमा १३ सयको हाराहारीमा पाइन थालेपछि प्रहरीले ग्यास कहाँबाट आयो भनेर खोजी गरेको थियो।

प्रहरीको केरकारपछि कार्कीले भारतबाट खाना पकाउने ग्यास बोकेर आउने बुलेट ट्यांकरका चालकसँगको मिलेमतोमा अनधिकृत रूपमा जोखिमपूर्ण तरिकाले बुलेटबाट सिलिन्डरमा ग्यास भरेर बेच्ने गरेको तथ्य फेला परेको हो।

सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको टोलीले ग्यास बुलेटसहित ३ जनालाई पक्राउ गरेको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.