|

चितवन : धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पुर्‍याएको छ। पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो।

जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ। कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ। काट्न बाँकी धान पनि ठाढो अवस्थामा छैन।

 कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ। भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ। भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकोमा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए।

 पूर्वी-चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ। जसका कारण दुवै धानमा क्षति पुगेको अर्यालको भनाइ छ। उनको भनाइमा पानीमा डुबेको धानबाट राम्रो चामल, चिउरालगायत उत्पादन हुन सक्दैन। काट्न बाँकी र काटिएका धानको पराल काम लाग्ने अवस्थामा नरहेको उनले जानकारी दिए।

 कार्यालयका प्रमुख युवराज पाण्डेले सबै पालिकामा स्थलगत निरीक्षण र दैनिक क्षतिको विवरण लिने काम भएको बताए। निरन्तरको वर्षाको कारण धानमा ठूलो क्षति भएको उनले जानकारी दिए।

पानी निरन्तर परिरहेकाले थप क्षति हुनसक्ने आँकलन गरिएको पाण्डे बताउँछन्। विगतका वर्षहरुमा वर्षे धान थन्क्याउने समयमा मौसम राम्रो हुने भए पनि यस वर्ष पानी र हावाहुरीले यहाँको धान प्रभावित भएको उनको भनाइ छ।

 चितवनमा यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो। गत वर्षमा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा एक लाख तीन हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको थियो। जिल्लामा विगत वर्षको आँकडालाई हेर्दा प्रतिहेक्टर ३ दशमलव ८ मेट्रिक टन उत्पादन हुने गरेको छ। चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिनाजस्ता प्रजातिका धान लगाइने गरिन्छ। रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.