|

सोलुखुम्बु : केही दिनयता निरन्तर परेको अविरल वर्षातले खेतीबालीमा क्षति पुर्‍याएपछि सोलुखुम्बुसहित देशभरिका कृषक चिन्तित बनेका छन्। जिल्लामा हुने मुख्य बालीमध्ये धान र कोदो खेतीमा वर्षासँगै हावाहुरीले क्षति पुर्‍याएपछि खाद्यसंकट निम्तन सक्ने चिन्ताले कृषकलाई पोल्न थालेको छ।

भित्र्याउने बेलाको कोदो र धान बाली हावाले ढालेपछि यहाँका कृषक दिनमा भोक र रातमा निद्रासमेत नलाग्ने बताउँछन्। थुलुङ दुधकोशी गाउँपालिका–६ का कृषक तुलबहादुर कार्कीले करिब १२ रोपनी क्षेत्रफलमा लगाएको धानबाली हावाहुरीका कारण भित्र्याउन नमिल्ने गरि नष्ट गरेको बताए।

'गत वर्षको तुलनामा यो वर्ष उत्पादन बढ्ने अनुमान थियो।' कार्कीले भने, 'तर एकै रातमा सालभरि खाने खेती सखाप बनायो।'

कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार गत वर्ष जिल्लामा १ हजार ५०५ हेक्टर क्षेत्रफलमा ३ हजार ६ सय मेट्रिक टन धान उत्पादन भएको थियो। तर यो वर्ष १० प्रतिशतले उत्पादनमा गिरावट आउने अनुमान रहेको ज्ञान केन्द्र सोलुखुम्बुका सूचना अधिकारी कुलबहादुर राईले बताए।

जिल्लाको नेचा सल्यान, थुलुङदूधकोशी र सोताङको तल्लो क्षेत्रमा धान खेती हुँदै आएको छ। तल्लो क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत नै धान रहेको भएपनि एकै रातमा स्वाहा हुँदा मन पोल्ने गरेको नेचासल्यान गाउँपाकिला–३ की मात्रिका कटेलले बताए।

'पाकिसकेको धान भित्र्याउन मात्र बाँकी थियो।' कटेलले भने, “मेहनत र श्रम खेर गयो, एकातिर परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो, अर्को तिर राहत पाउने आश पनि छैन।'

जिल्लाको मध्यभागका कृषकको मुख्य अन्नबाली मध्य कोदो पनि पर्छ। तर सोही कोदो बालीमा हावाहुरी र पानीले क्षती पुर्‍याउँदा उत्पादन घट्ने मात्र नभई घरपरिवार चलाउन गाह्रो हुने थुलुङ दूधकोशी गाउँपालिका–७ का बासुदेब खत्रीको गुनासो छ।

जिल्लामा गत वर्ष २ हजार १ सय ५ हेक्टर क्षेत्रफलमा २ हजार ८ सय ३० मेट्रिक टन कोदो उत्पादन भएको भएपनि यस वर्ष १० प्रतिशतभन्दा बढिले घट्ने कृषी ज्ञान केन्द्र सोलुखुम्बुको अनुमान छ।

निरन्तरको वर्षासँगैको हावाहुरीका कारण के कति अन्नबालीमा क्षति पुग्यो भन्ने यकिन विवरण भने स्थानीय सरकारदेखि ज्ञान केन्द्रसँग पनि छैन। ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार सबै स्थानीय तहलाई क्षतिको विवरण उपलब्ध गराउन परिपत्र गरेको भए पनि प्राप्त भएको छैन। विवरण संकलन भए पनि क्षतिपूर्तिसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नभएको उनको भनाइ छ।

विभिन्न समयमा राहत तथा उद्धारमा सक्रियता जनाउने स्थानीय सरकारसमेत यसपटकको क्षति विवरण संकलनमा भने सुस्ताएको छ। अधिकार सम्पन्न सरकारसँग राहत दिनेदेखि सोहीअनुसारको कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमता भए पनि नीतिगत व्यवस्था नभएको नेचासल्यान गाउँपालिकाका प्रवक्ता धर्मध्वज खत्रीको भनाइ छ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुल बहादुर राईका अनुसार स्थानीय सरकारले क्षतिको विवरण संकलन गरी सोहीअनुसार राहत तथा सहयोगको प्याकेज ल्याउनुपर्ने हुन्छ। नेपालको संविधानको धारा ३६ ले समेत यसको व्याख्या गरेको छ। तर यस प्रति स्थानीय सरकारको ध्यान नपुग्ने गरेको स्थानीयवासी नागरिकको गुनासो छ।

नेचा सल्यान गाउँपालिका प्रवक्ता खत्रीले पालिकामा समेत गुनासो आएकाले प्राविधिकले विवरण संकलन गर्ने र सोहीअनुसारको निर्णय गरी काम गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.