|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका-१ पाङका गोपालकान्त रिजालले मानाको ५० रुपैयाँका दरमा फाटफुट रूपमा गाउँमा दूध बिक्री गर्दै आएका थिए। घरबाटै छिमेकीले किनेर लगेमा दूध बिक्री हुन्थ्यो, बाँकी रहेको आफैँले खाने तर पनि रह्यो भने मोही बनाउने। घ्यू निकालेपछि बन्ने मोहीको रूपमा उनले धेरै दूध खेर फालेका छन्।
अब भने त्यो परम्परा छाडेर रिजालले मानाको ५० भन्दा बढी मूल्य पाउन लागेका छन् भने मोहीका रूपमा दूध पोख्नुपर्ने बाध्यता पनि हटेको छ।

कृषिमा अथाह सम्भावना बोकेको पाङलाई कुश्मा नगरपालिकाले भैँसी पकेट जोनका रूपमा विकास गरेपछि दूध संकलन केन्द्र सञ्चालनमा आइसकेको छ। मोही बनाएर फाल्ने दूधलाई व्यावसायिक रूपमा बजारमा पठाउन सकिने भएपछि दूध बेचेरै बाबु नानीलाई पढाउने खर्चदेखि घरको गुजारा चलाउन पनि सजिलो भएको छ।

‘गाउँमा सबैका घरमा भैँसी पालेका छन् खासै दूध कसले पो किन्थ्यो र? त्यही पनि १-२ माना कहिलेकाहीँ जान्थ्यो त्यो पनि मानाको ५० मा’, उनले भने, ‘गाउँमै डेरी खुलेपछि सबै दूध त्यहीँ जान्छ, मूल्य पनि राम्रो आएको छ। मोही बनाएर फाल्ने गरेको दूधले पैसो पाएको छ।’

कृषि उत्पादनका लागि उर्वर मानिने पाङ र खुर्कोटमा अहिले पनि धेरै किसानहरूले दूध उत्पादन गर्ने गरेको दूध मोहीका रूपमा फाल्ने गरिएको थियो। पशुपालन र तरकारी उत्पादनका लागि जमिन, तापक्रम तथा मिहिनेती कृषक सबै मिलेको गाउँलाई कृषिमा विशेष जोड दिइएको छ।

कृषिको नमुना गाउँको रूपमा घोषणा भएको उक्त क्षेत्रलाई कुश्मा नगरपालिकाको भैँसी पकेटको जोनका रूपमा समेत विकास गर्न लागेपछि स्थानीय कृषकहरू दूध उत्पादनमा हौसिएका छन्।

घरमा पाल्दै आएका दुई वटा स्थानीय जातका भैँसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैँसीको व्यावसायिक कृषि उत्पादन केन्द्रमा नपर्ने भएपछि सोही ठाउँका यज्ञप्रसाद कँडेलले पनि मुर्रा जातको भैँसी खरिद गरेका छन्।

उनी जस्तै अरू धेरै कृषकहरू कोही हाइब्रिड त कोही स्थानीय जातका भैँसी किनबेच गरिरहेका छन्।  कृषिमा अथाह सम्भावना बोकेको पाङलाई कुश्मा नगरपालिकाले भैँसी पकेट जोनका रूपमा विकास गरेको छ। त्यसका लागि दूध संकलन केन्द्र सञ्चालनमा आइसकेको छ। दूधले बजार पाएपछि सामान्य घर खर्ची चलाउन समस्या नभएको अर्का कृषक हेम शर्मा रिजाल बताउँछन्।

‘घाँसको समस्या खासै छैन, पराल प्रशस्त छ, भैँसी पाल्न सके दूध दिन्छन् यहाँ। पहिले पहिले खाएरै सकियो, कोही खुवाएर सकियो’ उनले भने, ‘अहिले दूध जति नगरपालिकाको केन्द्रमा जान्छ, जति लग्यो उतिको पैसा आउँछ। चिनी, चियापत्ती, लुगाफाटो किन्न पनि त्यही पैसाले काम चलेको छ।’

दूधको माग गाउँमै पनि राम्रो नभएको त होइन। तर,डेरी नै स्थापना गरेर आवश्यकताअनुसार जिल्लाबाहिरसमेत पठाउने भएपछि स्थानीय मूल्यभन्दाबाहिर पठाउँदा कृषकलाई मुनाफा बढी हुँदै छ।

यही कारण पनि परम्परागत शैलीमा दूध बेच्नुभन्दा पार्वती गुफा भैँसी पालन पकेट समितिमार्फत चलेको दुग्ध संकलन केन्द्रमा कारोबार गरिरहेको कृषकहरूको भनाई छ। कृषि नै दैनिक जीविकाको प्रमुख काम भएकाले अहिले गरिरहेको कृषि कर्मलाई व्यावसायिक बनाई व्यस्तता र आम्दानी दुवै बढाउने सोचमा पाङ र खुर्कोटका कृषकहरू छन्।
कँडेल र रिजाल जस्तै पाङ र खुर्कोटका ५० जना किसान नयाँ भैँसी खरिद गरेका छन्। वडा सदस्य वीरेन्द्र रिजालका अनुसार संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र किसानको पाँच लाख गरी कुल ३५ लाखको लगानीमा कम्तीमा पनि १ सय ५० वटा भैँसी पाल्ने गरी काम भइरहेको छ।

उत्पादित दूधलाई पर्वत सदरमुकाम कुश्मा, बागलुङ सदरमुकाममा बागलुङ र खपत हुन नसकेमा पोखरासम्म पुर्‍याउने गरी तयारी छ। यसमा समावेश हुन चाहने किसानले १० हजार रुपैयाँ लगानी गर्नुपर्ने, कम्तीमा एउटा मुर्रा जातको सहित तीन वटा भैँसी पालेको हुनुपर्ने, एक रोपनी क्षेत्रफलमा घाँस लगाएको हुनुपर्ने सर्त राखिएको छ।

यो वर्ष ५० जना किसान परियोजनामा सहभागी हुने र उनीहरूले पालेका भैँसीबाट दैनिक कम्तीमा पनि पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.