|

दाङ : घोराही उपमहानगरपालिका-१७ गुलरियाका किसान चौधरी योपटक खेतमा फलेको धान देखेर निकै खुशी थिए। गत वर्षको भन्दा योपटक समयमै पानी र मल पाउँदा उनको खेतमा धान राम्रो फलेको थियो।

उनको त्यो खुशी धेरै दिन टिक्न सकेन। घरमा भित्र्याउन लागेको धान केही दिनदेखि परेको अविरल वर्षाले चुर्लुम्म डुबाएपछि अहिले उनी चिन्तित बनेका छन्। मानो रोपेर मुरी फलाएका किसानको धान अहिले पूरै काम नलाग्ने भएको छ। उनले त्यही भिजेको धान हेर्दै अब परिवारलाई कसरी पाल्ने भन्ने चिन्तामा छन्।

‘बर्खामा त्यति धेरै पसिना बगाएर खेती गरेको धान अहिलेको पानीले काम नलाग्ने गरायो’‚ उनले चिन्तित मुद्रामा भने, ‘अब हामीले के खाने हो? यो धान काम नलाग्ने भइसकेको छ। पानी परिरहेको छ। धान खेतमा भिजिरहेको छ। यो पानीले हामी जस्ता किसानलाई धेरै बिगारेको छ।’

पानी र मल नपाएर किसानले दुःख पाउँछन्। कहिले धेरै पानी, रोगले गर्दा किसानले सास्ती भोगेका छन्। यस्तै अवस्था रहे किसानहरू कसरी बाँच्न सक्छन् भन्दै उनले प्रश्न गरे?

गत वर्षभन्दा यो वर्ष जिल्लामा धानको खेती राम्रो भएको तर धान भित्र्याउने वेला परेको वर्षाले गर्दा धान उत्पादनमा कमी आउने किसानको भनाइ छ। धेरै दिनदेखि पानीमा धान भिज्दा त्यो काम नलाग्ने घोराही उपमहानगरपालिका १६ का अर्का किसान नगेन्द्र चौधरीले बताए।

उनका अनुसार धेरै दिन पानीमा डुबेको धान प्रयोगमा आउन सक्दैन। ‘भिजेको धानबाट चामल निक्लिँदैन। यसबाट धेरै खुदी आउँछ’, उनले थपे, ‘चामल त हुँदैन। सबै धान भिजेको छ। केही धेरै दिनदेखि पानीमा डुब्दा उम्रने अवस्थामा पुगेको छ। यो धानको चामल हैन पिठो हुन्छ।’

त्यस्तै उनले अहिले धान भिजेका किसानलाई राज्यले राहत दिनुपर्ने समेत माग गरे। आफ्नो ठाउँको करिब ६० बिघा जमिनमा लगाएको धान पूरै नष्ट भएको उनको भनाइ छ।

‘मैले थोरै काटेको छु। मेरो थोरै डुबेको छ तर अरूले पूरै काट्नु भएको छ। उहाँहरूको सबै धान डुबेर काम नलाग्ने भएको छ’, उनले भने।

वर्षाका कारण आफूहरू अहिले धेरै पीडामा भएको भन्दै किसानले बिमाको सेवा नपाउँदा समय समयमा यस्ता समस्या भोग्दै आएको उनले बताए। त्यसैगरी उनले किसानहरूलाई यस्तो आपत्‚ विपद् परेका वेला कुनै पनि जनप्रतिनिधि नआएको गुनासो गरे।

उनले भने, ‘हामी किसान यस्तो विपद्‌मा छौँ। उहाँहरू भोट माग्ने वेला हामी तपाईँहरूलाई आपत् विपद् परेको जुनसुकै वेला पनि आउँछौँ भनेर भोट माग्नु भयो तर अहिलेसम्म कोही पनि आउनु भएको छैन।’

त्यस्तै घोराही उपमहानगरपालिका-१७ गुलरियाका केपी चौधरीले पनि गुलरिया क्षेत्रमा करिब एक सय बिघा जमिनमा रोपेको धान नष्ट भएको बताए। उनले योपटक धान खेती राम्रो भए पनि पानीका कारण सबै नष्ट भएको गुनासो गरे।

केही मात्र किसानले धान भित्र्याएको र धेरै किसानको धान नष्ट भएकाले राज्यले किसानलाई क्षतिपूर्ति दिनुपर्ने समेत उनको माग छ।

‘एकदमै दुःख गरेर रोपेको धान घर भित्र्याउने अवस्थामा पानीले पूरै नष्ट गरेपछि अहिले किसान निकै पीडामा छन्’, उनले भने, ‘यही धानमै भर परेका निम्न वर्गीय किसानलाई राज्यले राहत दिनुपर्छ। नत्र उनीहरू भोकमरीका कारण मर्न सक्ने अवस्था आउनेछ।’

जिल्लामा यो वर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। जसअनुसार पूर्णरूपमा धान उत्पादन भएमा जिल्ला आफैँमा आत्मनिर्भर बन्न सक्छ तर वर्षाले गर्दा झन्डै २ सय हेक्टरमा पानीले बगाउँदा र पुरिँदा धान पूरै ष्ट भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। केन्द्रका अनुसार अहिले स्थानीय तहको सहकार्यमा क्षतिको विवरण संकलन भइरहेको छ।

काटेको धान पानीमा डुबेको छ भने नकाटेको धान पनि हावाहुरीले लडाउँदा डुबानमा पर्दा क्षति पुर्‍याएको केन्द्रका सूचना अधिकारी रुद्रमणि पौडेलले बताए। त्यस्तै अहिले पानीमा डुबेको धान सुकाउन बाहेक अरू कुनै विकल्प नरहेको समेत उनको भनाइ छ।

उनका अनुसार भिजेको धानलाई मेसिनबाट सुकाउन सकिने भए पनि त्यो धेरै खर्चिलो हुने भएकाले यहाँ सम्भव छैन। धान उत्पादनको हिसाबले लुम्बिनी प्रदेशमा दाङ लगायत कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँके, बर्दिया जस्ता जिल्ला उपयुक्त भए पनि अविरल वर्षाले ति जिल्लाका अधिकांश स्थानमा धानबाली खेतमै डुबेको छ।

यो वर्ष लुम्बिनी प्रदेशमा ३ लाख १९ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। धान खेती भएको क्षेत्रबाट १५ लाख २५ हजार ३ सय टन धान उत्पादन हुने अनुमान रहेको लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयले बताएको छ। निर्देशनालयका अनुसार बेमौसमी वर्षाले १० देखि १५ प्रतिशतसम्म क्षति पुग्नसक्ने आँकलन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.