|
दोदा नदीले क्षति पुर्‍याएको जग्गा देखाउँदै स्थानीय।

कञ्चनपुर : बेमौसमी वर्षाका कारण दोदा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका १२ तिलकीमा जग्गा कटान गरेको छ।

नदीको बहाव उच्च बनेपछि स्थानीय बासिन्दाको जग्गा कटानसँंगै धानबाली, उखु र केरा खेतीमा क्षति पुर्‍याएको छ। नदीले हालसम्म स्थानीयको दश कट्ठाभन्दा बढी जग्गा बगाएर बगरमा परिणत गरेको छ।

स्थानीय लोकेन्द्र रानाको पाँच कट्ठामा लगाएको केराका बोट जग्गा कटानसँगै बगेको छ। ‘दुई कट्ठामा लगाएका केराका बोट पसाउनै लागेका वेला जग्गासँगै बगेका छन्’, रानाले भने, ‘४० हजार खर्च गरेर केरा खेती गरेको थिएँ। जग्गासँगै केरा खेती नदीमा बग्यो।’ नदी बस्तीसम्मै पुग्न थोरै मात्र बाँकी रहेको उनले बताए।

अर्का किसान मंगलप्रसाद चौधरीको पनि उखु लगाएको ६ कट्ठा जग्गा नदीले कटान गरेको छ। बेच्न तयारी अवस्थामा रहेको अर्ली जातको कात्तिके उखु जग्गासँगै बगेको उनले बताए।

यस क्षेत्रका सातजना किसानको खेती गरेको जग्गा नदीले बताएको छ। पानी पर्ने क्रम रोकिए पनि नदीको बहाव उच्च रहेकाले जग्गा कटान भइरहेको छ।

रेडक्रसको सहयोगमा दुई वर्षअघि नदी कटान रोक्न बनाइएको बाँसको तटबन्ध बगेपछि नदीले कटानको कार्य तीव्र पारेको स्थानीय किसानको भनाइ छ। नदी नियन्त्रणको प्रयास नभए अर्को वर्षाका वेला पूरै बस्ती विस्थापनमा पर्ने सम्भावना प्रबल रहेको स्थानीय लक्ष्मण रानाले बताए।

‘नदीले कटान गरिरहेको जग्गा अवलोकनका लागि सुदूरपश्चिम प्रदेशमा मन्त्री र प्रदेश सभा सदस्य लगायतको टोलीले निरीक्षण गरेको छ’, रानाले भने, ‘जग्गा बगेको देखे पनि विनाआश्वासन फर्किएका छन्। जग्गा बगेका पीडितको घर सोही ठाउँमा भए पनि बोलाइएन। पीडा नसुनीकन टोली फर्किएको छ।’

स्थानीय बासिन्दाले नदीमा भरपर्दो तटबन्ध निर्माण गर्न वर्षौंदेखि माग गर्दै आए पनि सुनुवाइ भएको छैन। नदीको गुरुयोजना अन्तर्गत तटबन्ध निर्माण हुने भनेर अश्वासन दिइए पनि तटबन्ध निर्माणको कार्य भने नहुने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ। यसअघि वर्षाका वेला समेत यो क्षेत्रका बासिन्दाको दुई बिघाभन्दा बढी जग्गा नदीले कटान गरी बगाएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.