|
फाइल तस्वीर

हेटौंडा : बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेशको प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि सारिएको छ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाउन बस्न लागेको बैठकमा सत्तारुढ दल एमाले सहभागी हुने विषय विवादित भएपछि बैठक केही समयका लागि स्थगित गरिएको हो।

एमालेले पार्टी अधिवेशनको कारण देखाउँदै प्रदेशसभाको बैठकमा आफूहरू उपस्थित हुन नसक्ने भन्दै बिहीबारको बैठक सार्न आग्रह गरेको थियो। सभामुखले एमालेको आग्रहअनुसार बैठक स्थगित नगरेर सदन चलाउने भएपछि बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा एमालेभित्र मतभेद सिर्जना भएको थियो।

एमालेको एक पक्षले बैठकमा सहभागी नहुने बताइरहे पनि अर्को पक्षले सदन बोलाइसकेको अवस्थामा सहभागी हुनुपर्ने बताएको थियो।

सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले प्रदेशसभा बैठकमा सहभागी हुने र मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको प्रक्रियासमेत अघि बढ्ने बताए। उनले सभामुखले सदन बोलाइसकेको र स्थगित गर्न नसक्ने अवस्थामा संसद् बैठकमा उपस्थित हुनुको अन्य विकल्प नरहेको बताए।

एमालेका मुख्य सचेतक दीपक निरौलाले भने एमालेका सांसदहरू बैठकमा सहभागी नहुने बताए। उनले आफू पनि बैठकमा उपस्थित नहुने र अरू पनि अधिकांश सांसद बैठकमा उपस्थित हुन नसक्ने बताए।

तपाईँहरू बैठकमा सहभागी हुने निष्कर्षमा पुग्नु भएको हो भन्ने प्रश्नमा आक्रोशित हुँदै निरौलाले भने, ‘एक दुईजना सहभागी भएर सत्तापक्ष र प्रतिपक्षको कोरम त पुग्ला तर भविष्यमा पनि कार्यक्रम गर्नुपर्ला, प्रदेशसभा बैठक चलाउनुपर्ला। त्यो वेला गाह्रो पर्न सक्छ।’

निरौलाको यो जवाफले संसद् बैठकमा सहभागी हुने विषयले एमालेभित्र विवाद देखिएको प्रस्ट हुन्छ। सदनमा सहभागी हुने वा नहुने विषयमा एमालेभित्र व्यापक मतभेद सिर्जना भएपछि मुख्यमन्त्री एवं संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले मन्त्री तथा आफूनिकट सांसदसँग छलफल गरेर सदनमा सहभागी हुने निर्णयमा पुगेकी थिइन्।

बैठकमा सहभागी हुन एमालेका सांसदहरू प्रदेश राजधानी हेटौंडा आइनपुगेका र एमालेभित्रको मतभेद कायमै रहेकाले बैठकको समय धकेलिएको एमालेका एक सांसदले बताए। 

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने प्रस्ताव गरेकी थिइन्। विपक्षी गठबन्धनले मुख्यमन्त्रीको टुंगो नलगाउँदा दलहरूबीचको सहमतिमा प्रदेशसभाको बैठक सारिएको थियो। एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (समाजवादी) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.