|

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरास्थित विपी बाल आँखा, कान, नाक अस्पताल नजिकबाट प्रहरीले बुधबार राति स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–१० पाण्डवखानी स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन हुन्।

स्रोत नखुलेको ठूलो परिणामको रकम बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा आँखा अस्पताल नजिक सुरक्षाजाँचका क्रममा पुनलाई बा. ४९ प ८५६५ नं. को स्कुटीको डिकीभित्र नगद ३० लाख रुपैयाँ लुकाई छिपाई बोकी हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

अनुसन्धानका क्रममा पुनले आफ्नो कोठामा थप ५० लाख नगद लुकाई राखेको भन्ने खुल्न आएपछि प्रहरीले पुनको कोटेश्वरस्थित उनको कोठामा छापा मारी थप ५० लाख बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

पुनलाई बरामद भएको नगद र स्कुटरसहित थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक‚ ललितपुर पठाइएको प्रनाउ गिरीले बताए। अनुसन्धानका क्रममा पुनले गैरकानुनी कारोबार गर्ने गरेको खुल्न आएको प्रनाउ गिरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.