राजेन्द्र पाण्डेपछि इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने

|

हेटौंडा : नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्री पद आधा–आधा कार्यकाल चलाउने सहमति गरेका छन् । 

अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बर्हिगमनपछि समाजवादी र कांग्रेसले आलोपालो सत्ताको नेतृत्व गर्ने लिखित सहमति गरेका हुन्। समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका सचेतक वसुन्धरा हुमागाईँका अनुसार बिहीबार विहान हेटौंडामा बसेको प्रदेशसभामा रहेका केन्द्रीय सत्तारुढ गठबन्धनमा आवद्ध दलको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको हो। 

पहिला समाजवादी पार्टी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन्। १४ महिनाको बाँकी कार्यकालमा पाण्डेले सात महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको हुमागाईँले जानकारी दिए। 

यसअघि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेश सरकारको नेतृत्व आफुहरुले गर्ने सहमति भइसकेको दाबी गरेका थिए। कांग्रेसले आफ्नो दाबी नछोडेपछि सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको उपस्थितिमा बसेको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटाएको हो। 

मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराइसके पनि त्यसबारे छलफल अघि बढेको छैन। स्रोतका अनुसार मुख्यमन्त्री शाक्यले स्पष्ट अल्पमतमा परिसकेकाले विश्वासको मत सामना गर्नुभन्दा राजीनामा दिने तयारी गरेकी छिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.