काठमाडौं : मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म 'एक्स ९ः लेभल वन' को प्रदर्शन मिति घोषणा भएको छ। बुधबार निर्देशक भट्टले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म २०७९ को दशैंमा प्रदर्शन हुने जनाएका हुन्।
भट्टले आफ्नो र सुनील सेट्टीको फोटो राख्दै छिटै औपचारिक घोषणा हुने कुरा पनि जनाएका छन्। साथै सुनीलसँग निर्देशकको रुपमा काम गर्न पाउँदा आफू निकै खुशी रहेको पनि लेखेका छन्।
यसअघि उनले सुनीलसँग लिखित सम्झौता हुन बाँकी रहेको बताएका थिए। पछिल्लो पोष्टसँगै सुनील र 'एक्स ९' टोलीको लिखित सम्झौता भएको बुझिएको छ।
'एक्स ९' लाई नेपाली, हिन्दी र अंग्रेजी गरी ३ भाषामा प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ। फिल्ममा अनमोल केसी, सौगात मल्ल, पुष्प खड्कालगायत कलाकारको मुख्य भूमिका रहनेछ भने सुनीलले खलपात्रको भूमिका निर्वाह गर्नेछन्।
भट्टले यसअघि 'लप्पन छप्पन' र 'लप्पन छप्पन २' बनाइसकेका छन्। ठूलो लगानीमा बनेको 'लप्पन छप्पन' ले व्यावसायिक सफलता पाउन सकेको थिएन भने 'लप्पन छप्पन २' प्रदर्शनको तयारीमा रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।