|
पीडित सुकमरिया देवीसँग भेटेर अवस्था बुझ्जै गरेको मानव अधिकारकर्मीहरुको टोली। तस्वीर : अजय साह

जनकपुरधाम : मानव अधिकारकर्मीको टोलीले महोत्तरीमा एक महिलालाई बोक्सी आरोपमा मलमुत्र कोच्याएर गरेको कुटपीटबारे जानकारी लिएको छ। साथै टोलीले घटनास्थलको अनुगमन पनि गरेको छ।

जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४२ वर्षीया सुकमरिया देवी महतोलाई ०७८ असोज २७ गते बिहान बोक्सीको आरोपमा केही व्यक्तिले मलमुत्र कोच्याएर कपाल मुण्डन गरी अमानवीय कुटपिट गरेका थिए। 

अनुगमन टोलीमा राजु पासवान (इन्सेक प्रदेश २), अर्जुन साह (थर्ड एलायन्स), शंकरप्रसाद श्रेष्ठ (नेपाल मानव अधिकार संगठन प्रदेश २), लीला दियाली (ओरेक महोत्तरी), अजय साह (थाहाकर्मी), इसरागन यादव (जिल्ला महिला सञ्जाल महोत्तरी), काजल झा, सविता यादव (महिला अधिकारकर्मी) र शिला महतो (बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल) सहभागी थिए।

टोलीले पीडित सुकमरिया देवीको घरमै गई उनको स्वास्थ्य तथा मानसिक अवस्थाबारे जानकारी लिनुको साथै घटनास्थलको अनुगमन, वरिपरि छरछिमेक तथा सम्बन्धित वडाध्यक्षसँग समेत घटनाबारे जानकारी लिएको थियो।

घटनास्थलबाट फर्केर टोलीले महोत्तरीमा भएको सुकमरिया देवी महतोको घटना र महोत्तरी गाउँपालिका–३ की ४२ वर्षीया शिलादेवी झाको देवरबाटै ०७८ असोज २८ गते बिहान बोक्सी आरोपमा भएको हत्यामा गम्भीर ध्यानाकर्षण भएको र दोषीमाथि कारबाहीको माग गर्दै संयुक्त विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा दुवै घटनाको मुख्य कारण कथित बोक्सीको आरोप नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट समेत खुलेको हुनाले यस्ता घटना दोहोरिन नदिन कानूनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक भएको जनाइएको छ।

यी दुई प्रतिनिधि घटना मात्र भएको उल्लेख गर्दै यस्ता घटना गाउँ समाजमा दिनहुँ भइरहेको, बोक्सी आरोपमा विपन्न तथा गरिब, असहाय र एकल महिला पीडित हुने गरेको विज्ञप्तिमा जनाइएको छ।

बोक्सी आरोप (कसुर सजाय) ऐन, २०७२ रहे पनि अधिकांश घटनामा संलग्न दोषीलाई कानुनअनुसार सजाय हुन नसक्दा पीडकको मनोबल बढ्दै गएको र पीडितको न्यायप्रति विश्वास घट्दै गएको समेत विज्ञप्तिमा उल्लेख छ।

समाजमा विद्यमान बोक्सीजस्ता अन्धविश्वास तथा कुरीति हटाउन कानूनी सचेतनामूलक अभियान आवश्यक रहेकाले यसप्रति सरकार तथा सम्बन्धित निकाय, संघ संस्था, नागरिक समाज र स्थानीय जनसमुदायको सहयोग र सहकार्यको आवश्यक्ता रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

दुवै घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कानून बमोजिम सजाय र पीडितलाई न्यायसहित क्षतिपूर्ति दिन सम्बन्धित निकायसमक्ष माग गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.