'अर्ली इलेक्सनबारे एक्लै निर्णय गर्दिनँ'

|

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले गृह प्रदेश सुदूरपश्चिम पुगेर अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा  पास हुने बताएका छन्।

परियोजना पास हुनुपर्ने बताउँदै आएका देउवाले पुनः बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम आएका बेला यस्तो बताएका हुन्।

धनगढीमा आज (शुक्रबार) प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानुनमातहत नै  हुने दाबी गरेका छन्।

उनले भने, ‘एमसिसी पास हुन्छ। यसमा संशोधन आवश्यक छैन। परियोजनाबारे केही झुठा प्रचार गरिएको  छ। एमसीसी परियोजना अनुदान हो। यसमा नेपालकै कानून लागू हुन्छ।’ अनुदान परियोजनाका बारेमा अनावश्यक धेरै होहल्ला गरेको देउवाको भनाइ छ।

यस्तै, अर्को सन्दर्भमा प्रधानमन्त्री देउवाले बाढी र पहिरो पीडितका लागि अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन बताएका छन्। ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भयो। बाटो, पुल पुलेसा भत्किए। किसानका जमिनहरु बगे। पूर्वाधारहरुमा क्षति भयो। यसका लागि सरकारले दीर्घकालीन योजना बनाएर काम गर्छ।’

नेपाली कांग्रेसको आसन्न महाधिवेशन सर्ने अथवा निर्धारित समयमै हुन्छ कि हुँदैन भन्नेबारे भने प्रधानमन्त्री तथा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको बताएका छन्।

‘निर्वाचन आयोग भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ। त्यो स्वायत्त समिति हो। उहाँहरूको निर्णय सबैले मान्ने हो। उहाँहरूले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ। सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने।

यता, अर्ली इलेक्सनका सवालमा भने देउवाले गठबन्धनको चाहनाअनुरूप नै यस्ता निर्णय हुने बताउँदै सरकार गठबन्धनले जे भन्छ त्यही हुने बताएका छन्।

बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री गृहप्रदेश सुदूरपश्चिम पुगेका हुन्। देउवा आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.