खोप गम्भीर रोगका बिरामीलाई दिने तयारी

|

काठमाडौं : कोरोना भाइरसविरुद्धको १ लाख ६ सय ३० डोज अमेरिकी फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ।

यसअघि दशैँअघि नै आउने बताइए पनि दशैँका कारण रोकिएको खोप अब सोमबार आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताए।

उनका अनुसार फाइजर खोप घोलेर लगाउनुपर्ने हुँदा आइतबार खोपको घोलक आउने र सोमबार खोप आउने बताए। उनले भने‚ ‘नियमित उडानमा सोमबारसम्म फाइजर खोप आउँछ।’

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले उपलब्ध गराउन लागेको सो खोप नेपालमा पहिलोपटक भित्रिन लागेको हो। कोरोनाविरुद्धका अन्य खोपभन्दा फाइजरको खोपमा केही फरक छ। फाइजर खोपको पाउडर हुने भएकाले यसलाई घोल्नुपर्ने हुन्छ।

त्यसका लागि तालिम दिनुपर्छ। घोलेर एक घण्टा बाहिर राखेपछि मात्र लगाउन मिल्ने हुन्छ। अन्य खोपभन्दा यो खोपको प्रयोग तरिका फरक छ।

फाइजरले उत्पादन गरेको खोप ९० प्रतिशत सुरक्षित मानिएको छ। दुई मात्रा दिनुपर्ने खोपले युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) बाट अनुमति पाएको छ।

तीन साताको फरकमा दुई मात्रा दिनुपर्ने फाइजर खोपले १६ वर्ष र त्योभन्दा बढी उमेरका मानिसमा प्रयोग गर्न पूर्ण अनुमति पाइसकेको छ।

१२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप हाललाई भने अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू छन्, उनीहरूलाई पहिलो प्राथमिकता राख्दै ज्येष्ठ नागरिकलाई पनि यो खोप सुरुमा दिइने तयारी गरेको छ।

माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने यो खोपका लागि भण्डारणको व्यवस्थापन पूरा भइसकेको ढुंगानाले बताए। फाइजर खोपका लागि विभागले यसअघि नै ४ वटा फ्रिज ल्याएर राखिसकेको थियो।

द ग्लोबल एलायन्स फर भ्याक्सिन्स एन्ड इम्युनाइजेसन (गाभी) मार्फत आउने भनिएको १ लाख ६ सय ३० डोज फाइजर आउन लागेको फाइजर खोप गाभीले नेपालमा हाल भएको भण्डारण कक्षमा भण्डार गर्न कतिको उपयुक्त हुन्छ भन्नका लागि परीक्षणस्वरूप अनुदानमा पठाउन लागेको बताइएको छ।

यसरी आउने खोप नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउन लागेको हो। खोप भण्डारण गर्न सरकारले चारवटा कोल चेन तयार गरेको छ।

ती कोल चेनमा १ लाख डोज खोप भण्डारण क्षमता रहेको छ। यो खोपको सेल्फ लाइफ पूर्णरूपमा कायम गर्न अल्ट्रा कोल्ड चेन माइनस ४४ देखि माइनस ८० सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।

फाइजर खोपलाई माइनस १५ देखि २५ डिग्री सेल्सियसमा १४ दिन भण्डारण गर्न सकिन्छ। माइनस २ देखि ८ डिग्री सेल्सियसमा ३१ दिन मात्र राख्न सकिन्छ।

यो खोप एकपटक अल्ट्रा कोल्ड चेन माइनस ४४ देखि माइनस ८ सेल्सिय बाट २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गरेपछि फेरि माइनस तापक्रममा राख्न हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.